सन्धीखर्कमा भेटिए अर्का ‘धुर्मुस’ (भिडियोसहित)

१८ असार, काठमाडौं । नेपाल टेलिभिजनबाट प्रसारण हुने हास्य टेलिसिरियल मेरी बास्सैमा सीताराम कट्टेल ‘धुर्मुस’ र केदार घिमिरे ‘माग्ने बुढा’को प्रस्तुति निकै चर्चित र लोकप्रीय छ । सिरियल हेर्ने धेरै केटाकेटीले उनीहरुकै शैलीलाई नक्कल गरेर आपसमा मनोरञ्जन गर्ने गर्छन् । कट्टेलको ‘धुर्मुस’, ‘खड्काजी’, ‘केपी ओली’ लगायतको रोल धेरैले मन पराउँछन् ।







यस्तै घिमिरेको ‘चारघरे दादा’ र माग्ने बुढाको शैली पनि उत्तिकै लोकप्रीय छ । यही टेलिसिरियलमा आउने ‘तक्मे बूढा’ र ‘बाबुराम भट्टराई’ को नक्कल गर्ने पात्रलाई पनि धेरैले मन पराउँछन् ।



जनजिब्रोमा झुण्डिएका यी पात्रलाई गफगाफ र अरु मनोरञ्जनको बेला धेरैले प्रयोग गर्ने गर्छन् । तर, यसरी नक्कल गर्दा सबैले दुरुस्तै उतार्न सक्दैनन् । केहीले भने दुरुस्तै नक्कल गर्न पनि सक्छन् । ‘मेरी बास्सै’मा आउने रमाइला पात्रहरुको उस्तै शैलीमा नक्कल गर्ने तीनजना अर्घाखाँचीको सन्धीखर्कमा भेटिए ।



सन्धीखर्कमा एउटा कार्यक्रम थियो । कार्यक्रमको बीचमा एकछिन रमाइलो प्रस्तुतिको बेला आयो । कसैले गजल सुनाए, कसैले गीत । गजल र गीत लेख्न र भन्न नजान्ने कोही थिएनन् । सबै कोभन्दा को कम । यही मेसोमा अर्घाखाँची डिभर्नाका किशोर रविन नेपालीको पालो आयो । उहाँले मीठो गीतसँगै क्यारिकेचर पनि गर्नुभयो ।







नेपालीले अरु नेताका बोली र चराचुरुंगीको आवाज पनि नक्कल गर्न सक्नुहुन्छ । गायक र गायिकाकै स्वर निकालेर गीत गाउनुहुन्छ । उहाँले चार वर्षदेखि यसरी क्यारिकेचर गर्न थाल्नुभएको हो । सन्धीखर्कका अर्का किशोर राजेश पन्थीको क्यारिकेचर पनि उस्तै चोटिलो र गहकिलो छ ।







पन्थीले पनि ३/४ वर्षदेखि नै यसरी क्यारिकेचर गर्न थाल्नुभएको हो । अरु केही पात्र र वस्तुको आवाज पनि उहाँले नक्कल गर्न सक्नुहुन्छ । उहाँहरुजस्तै अर्घाखाँची मर्याङका महेश वि.क. पनि नेताहरुको आवाज दुरुस्तै नक्कल गरेर व्यंग्य गर्न खप्पिस हुनुहुन्छ ।







एउटा सानो कार्यक्रममा भेटिएका प्रतिनिधिपात्र मात्र हुन् यी । अर्घाखाँचीका यी किशोरहरुको प्रस्तुतिबाट थाहा हुन्छ, गाउँठाउँमा लुकेर बसेका यस्ता प्रतिभा अरु पनि धेरै छन् । जुन प्रतिभा प्रष्फुटनको लागि अवसर र ठाउँको खाँचो छ ।