नेविसंघ अध्यक्ष कर्णले मच्चाए चन्दा आतंक ,कांग्रेसभित्र खैलाबैला, कर्णलाई स्पष्टीकरण सोधियो

२३ जेठ, काठमाण्डौ । स्ववियु निर्वाचनमा आफ्नो संगठनलाई जिताउन भन्दै नेपाली काँग्रेसको विद्यार्थी संगठन नेविसंघले राजधानीका विभिन्न निजी कलेज र अस्पतालमासमेत चन्दा आतंक फैलाएको खुलासा भएको छ । नेविसंघका अध्यक्ष रञ्जित कर्णको ठाडो निर्देशनमा कलेज र अस्पतालमा ५० हजारदेखि तीन लाखसम्म चन्दा मागेको खुलासा भएपछि अहिले नेपाल विद्यार्थी संघ र माउ पार्टी नेपाली काँग्रेसभित्र खैलाबैला मच्चिएको छ ।


आर्थिक अनियमितताको रहस्य बाहिर आएपछि नेविसंघ केन्द्रीय सदस्य गणेश सापकोटाले बुधवारमात्रै पत्रकार समम्मेलन गरी त्यस्तो कार्यप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिनुभएको छ । पार्टीको निर्देशनविपरीत अध्यक्ष रञ्जित कर्णले चन्दा संकलनका नाममा नेपाल विद्यार्थी संघकै लेटर प्याडमा रकममै तोकेर २४ घण्टे अल्टिमेटम दिएको गुनासो अहिले नेविसंघकै नेता तथा कार्यकर्ताहरुले गरेका छन् । उनीहरुले यस्तो क्रियाकलाप नेविसंघको इतिहासमा पहिलोपटक भएको भन्दै आश्चर्य व्यक्त गरेका छन् ।

अध्यक्षले नै चुनावमा भन्दा चन्दा आतंकमा ध्यान दिएपछि वर्तमान कार्यसमितिका अधिकांश नेताहरु राजीनामाको मनस्थितिमा पुगेको एक नेताले अनलाइनखबरलाई बताए । कर्णकै हस्ताक्षर भएको पत्रसहित राजधानीको तिनकुनेमा रहेको कान्तिपुर अस्पताल र कोटेश्वरमा रहेको नवज्योति कलेजमा विद्यार्थी नेताहरु पुगेर तोकिएको रकम २४ घण्टाभित्रै उपलब्ध गराउन र यदि त्यसो नभए जे पनि हुन सक्ने भन्दै धम्की दिएको कान्तिपुर अस्पताल र नवज्योति कलेज स्रोतले जनाएको छ ।


नवज्योति कलेजमा केही गुण्डासहित पुगेका नेविसंघका नेताहरुले कलेज सञ्चालक मात्रिकाप्रसाद खतिवडामाथि हातपात गर्नुका साथै कलेजमा तोडफोड समेत गरेको खुलेको छ । तोकेको समयमा रकम उपलब्ध नगराएको भन्दै कलेज सञ्चालक खतिवडामाथि अपशब्द बोल्दै कलेजका सिसा तोडफोड गरिएको कलेज स्रोतले जनायो । नेविसंघ नेताहरुले आफूहरुलाई विजयी गराउन सहयोग आवश्यक भएको बताएपछि सञ्चालक खतिवडाले आफूहरुले चन्दा दिन नसक्ने र सञ्चालक समितिको बैठक बसेपछिमात्रै यस विषयमा आफूले उत्तर दिने जवाफ फर्काउनुभएको थियो । तर उहाँमाथि उल्टै कलेज ढिलो आएको र रकम दिन आनाकानी गरेको भन्दै अपशब्द प्रयोग भएपछि कलेजले प्रहरीमा उजुरीसमेत दिएको छ । कलेजले प्रहरसिँग सुरक्षासमेत मागेको छ । जेठ २३ मा हुने भनिएको स्ववियु निर्वाचन स्थगित भए पनि अझै पनि केही कलेजमा चन्दा माग्न जाने क्रम रोकिएको छैन । अनलाइनखबरले प्राप्त गरेको ‘आर्थिक सहयोग सम्बन्धमा’ शीर्षकको पत्रमा कलेजलाई सम्बोधन गरेर नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यालय घोविधाराको लेटरप्याडमा अध्यक्ष रञ्जित कर्णको हस्ताक्षर छ । सो चन्दा-पत्रमा कोटेश्वरको नवज्योति कलेजसंग ५० हजार रुपैयाँ मागिएको छ भने तीनकुनेमा रहेको कान्तिपुर अस्पतालसँग ५५ हजार रुपैयाँ चन्दा मागेको उल्लेख छ ।


स्ववियु निर्वाचनका नाममा यसैगरी राजधानीका विभिन्न निजी कलेज, स्कुल, उद्योगी तथा अस्पतालमा चन्दाका लागि नेविसंघले पत्र काटेको छ, जो पार्टीको नीति र निर्देशन विपरित भएको पार्टी तथा नेविसंघकै कतिपय नेताहरु बताउँछन् । बुधवार मात्रै राजीनामा दिएका निर्वमान केन्द्रीय सदस्य गणेश सापकोटाले यसरी चन्दा संकलनमा अध्यक्ष स्वयम नै लागेपछि यस्तो क्रियाकलापको विरोध गर्दै आफूले राजीनामा दिएको बताउनुभयो ।

व्यक्तिगत आमदानी बन्यो चन्दा

पार्टीले कुनै पनि सहयोग माग्न निर्देशन नदिए पनि नेविसंघको वर्तमान कार्यसमितिका अध्यक्ष कर्णकै अग्रसरतामा लाखौ रुपैयाँ चन्दा उठाएको छ । तर, त्यो पैसा चुनावका लागि वा संगठनका नाममा खर्च नभई स्वयम् जसले उठाएको छ, त्यसकै खल्तीमा परेको एक केन्द्रीय सदस्यको दाबी छ । ती केन्द्रीय सदस्यले भने, ‘चुनाव लड्न र जित्नका लागि चन्दा आवश्यक छैन, तैपनि चन्दा आतंक फैलाइएको यो अलोकतान्त्रिक कार्य हो, यसमाथि छानविन हुनु जरुरी छ ।’ कलेज, अस्पताल, स्कुल तथा उद्योगी व्यवसायीहरुलाई पत्र थमाउँदै धम्कीपूर्ण भाषामा तोकिएको जति रकम उपलब्ध गराउन फोन तथा प्रत्यक्ष भेटेरै कर्ण पक्षधर नेताहरु धाएका थिए । यही कारण विद्यार्थी संगठनमाथि नै कालो धम्बा लागेको र विद्यार्थी आन्दोलन नै कमजोर भएको विश्लेषण नेविसंघ नेताहरुले गनर्त थालेका छन् ।

चन्दा संकलन गरेका छैनौँ : कर्ण

चन्दा आतंक फैलाइएको प्रमाण नै बाहिर आइसकेको भए पनि नेपाल विद्यार्थी संघका अध्यक्ष रञ्जित कर्णले भने आफूहरुले कतैबाट पनि चन्दा संकलन नगरेको दाबी गर्नु भयो । उहाँले आफूले कसैलाई चन्दा संकलन गर्न निर्देशन नदिएको र नेविसंघको लेटरप्याडमा आफूले हस्ताक्षर नगरेको दाबी गर्नुभयो । तर, उहाँले यस्तो दाबी गरिरहँदा उहाँकै हस्ताक्षर भएको दुईवटा चन्दा-पत्र अनलाइनखबरले फेला पारेको छ ।

प्रमाण भेटिए कार्बाही गर्छौं : जोशी

विद्यार्थी विभाग प्रमुख एव्म काँग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले भने पार्टीले चन्दा माग्न कुनै निर्देशन नदिएको बताउनुभयो । उहाँले भन्नुभयो,-’चन्दा उठाउन हामीले कुनै निर्देशन दिएका छैनौं । चन्दा संकलनको कुरा बाहिर आएको छ । छानविन गरी दोषी ठहर भएकाहरुलाई कारबाही गछौर्ं ।’- जोशीले अनलाइनखबरसँग भन्नुभयो ।

कर्णलाई स्पष्टीकरण सोधियो

यसअघि बुधवारमात्रै संगठनभित्र आर्थिक अनियमितता व्यापकरुपमा भएको र नेविसंघ अध्यक्षलगायतका नेताहरु नै त्यस्तो कार्यमा लागेको तथा ६ महिनामा गराउनुपर्ने महाधिवेशन गराउन नसकेको भन्दै नेता गणेश सापकोटाले राजीनामा दिएका थिए । त्यसलगत्तै विर्ष रावल संयोजक रहेको अनुशासन समितिले अध्यक्ष रञ्जित कर्णलाई चन्दा संकलनका विषयमा तरुन्त केन्द्रीय समितिको बैठक बोलाई १० दिनभित्र स्पष्ट पार्न निर्देशन दिएको छ ।