रक्सी उद्योग चलाउन खोज्दा मन्त्री नै ठगिए

६ असार, काठमाण्डौं । मदिरा उद्योग किन्न खोज्दा मन्त्री छविराज पन्त ठगिएका छन् । डुबेको ५० लाख उठाउन उनले प्रहरी प्रशासन परिचालन गराएका छन् । मन्त्री पन्तका आफन्त सुरेन्द्रबहादुर बस्नेतले पर्साको बेलवामा रहेको स्नोल्यान्ड डिस्टिलरीको सेयर किन्न प्रस्ताव गरेका थिए । सोफी लगायतका कमसल मदिरा उत्पादन गर्दै आएको सो डिस्टिलरीले नाफा कमाउने भन्दै मन्त्री पनि उद्योग चलाउन सहमत भएर ५० लाख दिएका थिए । तर, पैसा बस्नेतले लिएपछि मदिरा उद्योगका मुख्य सञ्चालक किरण मानन्धर र उनकी छोरी करिश्मा मानन्धरले सेयर दिन मानेका छैनन् ।



स्रोतका अनुसार बस्नेतले मानन्धर परिवासँग कम्पनीको सेयर किन्ने सहमति गरी केही पैसा पनि दिएका थिए । तर, उनले दिएको एक करोड २० लाखको चेक बाउन्स भएपछि डिस्टिलरीको सेयर बाँडफाँड हुन सकेको थिएन् । चेक बाउन्स भएपछि मानन्धरले कम्पनी रजिस्ट्रारको कार्यालयलाई दबाब दिएर मानन्धरको नामको सेयर अन्य व्यक्तिको नाममा बाँडफाँड गर्न लगाएपछि विवाद बढेको नयाँ पत्रिकामा खबर छ ।

सो डिस्टिलरीका लागि वाणिज्य बैंकमा सम्पत्ति धितो राखिएका व्यक्तिहरुले समेत कम्पनीको सेयर आफ्नो नाममा गरिदिन कम्पनी रजिस्टारको कार्यालयमा निवेदन दिएका छन् । जसकारण दुईपक्षबीच विवाद बढेको हो ।