परपुरुषसँग अनैतिक सम्बन्ध राखेको आरोपमा श्रीमती हत्या गर्ने मोचीलाई जंजिरमा बाँधेर उपचार

गोलबजार (सिरहा), १४ असार । श्रीमती हत्या गरेका सिरहा बस्तीपुरका एक व्यक्तिलाई जंजिरमा बाँधेर वडा प्रहरी कार्यालय लहानले उपचार गराइरहेको छ ।

बस्तीपुर गाविस–८ का रामविलास मोचीलाई प्रहरीले आफ्नै निगरानीमा लहानस्थित रामकुमार शारदा उमाप्रसाद स्मारक अस्पतालमा उपचार गराइरहेको छ ।



अस्पतालका प्रमुख तथा मेडिकल अधिकृत मिश्रीलाल साहले जंजिरमा बाँधेर नराख्न प्रहरीलाई सुझाए पनि उनीहरुले वास्ता नगरेको बताउनुभयो ।

उहाँले भन्नुभयो – “यसरी जंजिरमा बाँधेर बिरामीलाई उपचार गराउनु मानवअधिकारको उल्लङ्घन हो तर प्रहरीले कुरै बुझेन । म के गरु ?” यता, वप्रका लहानका प्रहरी नायब उपरीक्षक हरिराज वाग्लेले उपचार गराउन जंजिरमा नबाँधेको बताउनुभयो । तस्बिर त खिचेको छु नि ? भन्ने प्रश्नमा उहाँले भन्नुभयो – “जंजिरमा बाँधेको मलाई थाहा छैन । मोचीलाई पक्राउ पनि गरिएको छैन । उनी प्रहरीको सामान्य निगरानीमा मात्रै छन् ।”

उहाँले यहाँ मोचीको उपचार संभव नरहेकाले थप उपचारका लागि आफन्तजनलाई जानकारी गराएको बताउनुभयो । परपुरुषसँग अनैतिक सम्बन्ध राखेको सुइँको पाएपछि यादवले दुई दिन अगाडि ४० वर्षीया श्रीमती रामादेवी मोचीको टाउकोमा बञ्चरो प्रहार गरी हत्या गरेका थिए । घटनापछि स्थानीय गाउँलेले यादवलाई नियन्त्रणमा लिएर निर्घात कुटपिट गरी प्रहरीको जिम्मा लगाएका थिए ।

कुटपिटबाट मोचीको खुट्टा भाँच्चिएको छ । टाउकामा पनि गम्भीर चोट लागेको छ । कुटपिटकै कारण उनको मानसिक सन्तुलनसमेत गुमेको उपचारमा संलग्न चिकित्सक बताउँछन् ।

मोचीको प्राथमिक उपचार भइसकेकाले यहाँबाट लग्न भनेपनि नलगेको अस्पताल प्रमुख साहको भनाइ छ । रासस (तस्बिर उपलब्ध छ)titanherald