दमक इलाका प्रहरी कार्यालयको हिरासतमै थुनुवाको मृत्यु भएपछि तनाव

झापाको दमक इलाका प्रहरी कार्यालयमा एक थुनुवाको मृत्यु भएपछि मजदुर तथा मृतकका आफन्तले घटनाको छानबिनको माग गर्दै बिहीबार प्रदर्शन गरेका छन् ।

साइकल चोरीको आरोपमा बुधबार बेलुकी पक्राउ परेका भारत पश्चिम बङ्गाल दिनाजपुर राईगन्ज घर भई हाल दमक–१ बस्ने वर्ष १९ का सुरज राजवंशीको हिरासतभित्रै मृत्यु भएपछि मजदुर तथा आफन्तले प्रदर्शन गरेका हुन् ।



प्रहरीले समातेको दुई घन्टापछि नै उनको मृत्यु भएको थियो । हिरासतभित्रै राजवंशी अचानक मुर्छित भएपछि उपचारका लागि लाइफलाइन अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

दमक–११ को एसी मोटरसाइकल ग्यारेजमा काम गर्दैआएका उनलाई ग्यारेज सञ्चालक चिन्तामणि तिम्सिनाले चोरीको आरोपमा प्रहरीमा बुझाएका थिए । आक्रोशित मजदुर तथा आफन्तले प्रहरीको कुटपिटबाट उनको मृत्यु भएको आरोप लगाएका छन् ।

यसैबीच आज बिहान इप्रका दमकमा बसेको सर्वपक्षीय भेलाले राजवंशीको मृत्युको विषयमा निष्पक्ष छानबिन गर्न नेपाल मानवअधिकार सङ्गठनका पूर्वाञ्चल संयोजक डा. केपी सुवेदीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको प्रहरी निरीक्षक हरि खतिवडाले जानकारी दिए ।

सो समितिमा दमक उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रकाश प्रसार्इँ, जिफन्ट झापाका अध्यक्ष शान्तिराम गौतम, सुमन सेढाईँ, भीम पौडेल र जितन राई सदस्य छन् ।