जाजरकोटमा २८ वर्षीय महिलाले झुण्डिएर आत्महत्या गरीन्

जाजरकोट,बैशाख ३० । जाजरकोटको खगेनकोट गाविस वडा नं ६ की २८ वर्षीय रत्नकुमारी विकले झुण्डिएर आत्महत्या गरेकी छिन् । आइतबार बिहान ८ बजे घर नजिकै रुखमा झुण्डिएको अवस्थामा विकलाई फेला पारिएको इलाका प्रहरी कार्यालय खगेनकोट दल्लीले बताएको छ ।



उनी विगत लामो समयदेखि खगेनकोट गाविस वडा नम्बर– ७ गराईला भन्ने ठाउँमा गोठमा बस्दै आएकी थिइन् । पशुचौपायालाई पाल्न उनी गाविसको वडा–७ मा बस्दै आएको परिवारिक स्रोतले जानकारी दिएको छ । उनका दुई छोरा र एक छोरी रहेका छन् । विकको माइती घर रग्दा गाविसको वासकोटमा रहेको छ । उनका श्रीमान् हरिबहादुर नेपाली कृषि पेसा गर्छन् । यसअघि पनि विक दम्पतीले गरिबीका कारण पटकपटक आत्महत्या गर्ने प्रयास गरेका इलाका प्रहरी कार्यालय दल्लीले बताएको छ । रासस