ल्यापटप फुटाउने लिम्बुवान कार्यकर्ता रिहा हुन मानेनन्

संवेदनशील अंगमा हिर्काइयो : लिङदेन

२१ वैशाख, धरान । फोटोसहितको मतदाता नामावली संकलन गर्न खटिएको सरकारी टोलीसँग शुक्रबार धनकुटाको दक्षिणी गाविस ६ नं बुधबारेमा भएको झडपपछि पक्राउ परेका लिम्बुवान कार्यकर्ताहरु रिहा हुन नमानेको धनकुटा जिल्ला प्रशासनले बताएको छ । धनकुटाको राजारानी प्रहरी चौकीले थुनामुक्त गर्दा पनि उनीहरु रिहा हुन नमानी चौकीमै धर्ना दिएर बसेको धनकुटा जिल्ला प्रशासन कार्यालयले अनलाइनखबरलाई बतायो ।



‘कार्यकर्तालाई रिहा गर भन्दै उनीहरुले बन्दको आयोजना गरेका छन् । तर, हामीले रिहा गर्दा पनि ५ जना कार्यकर्ता रिहा हुन नमानी राजारानी चौकीमै बसिरहेका छन् ।’-धनकुटा जिल्ला प्रशासन कार्यालयका एक अधिकारीले अनलाइनखबरसँग भने । ६ नम्बर बुधबारे गाविसका आयोजित मतदाता नामावली संकलन कार्यको विरोधमा आफूहरुले शान्तिपूर्ण विरोध प्रदर्शन गर्दा प्रहरीले कुटपिट गरी पक्राऊ गरेको आन्दोलनकारी नेता कुमार लिङ्देनको आरोप छ ।

उता प्रशासनले चाहिँ फोटो खिच्ने क्रममा ल्यापटप फुटाएको हुनाले पक्राऊ गरिएको जिकिर गरेको छ । ‘शान्तिपूर्ण विरोध गरेको भए किन पक्रनु ? ल्यापटप फुटाएको हुनाले समातिएको हो ।’-जिल्ला प्रशासन स्रोले भन्यो । मोरङ, पाँचथर र धनकुटाको सीमाना जोडिएको विकट गाविस ६ नं बुधबारेमा शुक्रबार मतदाता टोलीको सुरक्षार्थ खटिएको प्रहरी र लिम्बुवान कार्यकर्तावीच झडप भएको थियो । बुधबारे धनकुटा जिल्लामा परे पनि मतदाता टोली भने छिमेकी पाँचथर जिल्लाबाट दुईवटा गाविसका लागि खटिएको थियो ।

झडपपछि बुधबारेमा पक्राउ परेका ७ कार्यकर्तालाई शुक्रबारै धनकुटाको राजारानी प्रहरी चौकीमा ल्याइएको थियो । कार्यकर्ता रिहाइको माग गर्दै लिम्बुवान बन्दको घोषणा गरिएपछि धनकुटाका प्रमुख जिल्ला अधिकारीले सबैलाई तत्काल रिहा गर्न राजारानी चौकीलाई निर्देशन दिनुभएको थियो । राजारानी प्रहरी चौकीले शनिबार स्थानीयवासीको रहोबरमा उनीहरुलाई रिहा गरेको धनकुटा जिल्ला प्रशासन कार्यालयको दाबी छ । ‘हामीले रिहा गरिसकेका छौं, तर उनीहरु जहाँबाट ल्याएको हो, वहीँ पुर्याउनुपर्छ भन्दै चोकीमै धर्ना बसेका छन् ।’

जिल्ला प्रशासन स्रोतले भन्यो- ‘उनीहरुले नै बन्दको आयोजना गरेर गाडी चल्न दिएका छैनन्, कोही पाँचथरका छन् त कोही ताप्लेजुङका छन्, तिनीहरुलाई हामीले कसरी उनीहरुले भनेका ठाउँमा पुर्याउने ?’ पक्राउ परेकामध्ये दुईजना घाइते भएकाले उपचारका लागि धरान लगिएको र तिनीहरुलाई पनि सामान्य उपचारपछि रिहा गरिएकोमा ल्याएकै ठाउँमा पुर्याउनुपर्छ भन्दै अत्तो थापेको प्रशासन कार्यालय बताउँछ ।

रिहा गर भन्दै बन्द

गिरफ्तार गरिएका कार्यकर्ताको रिहाइको माग गर्दै संघीय लिम्बुवानले शनिबारदेखि पूर्वका ९ जिल्लामा अनिश्चितकालीन बन्दको घोषणा गरेका हुन् । बन्दले पूर्वका झापा, मोरंग, सुनसरी लगायत मेची कोशीका पहाडी जिल्लाको जनजिवनमा प्रभाव पारेको छ । पक्राउ परेका कार्यकर्ता रिहा नभएसम्म बन्द जारी रहने मञ्चका नेता लिङ्देनले बताएका छन् । बन्दकर्ता संगठन मोहन वैद्यको ३३ दलीय मोर्चामासमेत आवद्ध छ । प्रशासनले चाँहि रिहा गरिसक्दा पनि बन्दको नाटक गरेको जनाएको छ ।

यसैवीच शनिबार आन्दोलनरत ३३ दलका तर्फबाट विज्ञप्ति प्रकाशित गर्दै नेकपा माओवादीका सचिव देव गुरुङले पनि गिरफ्तार गरिएका लिम्बुवान कार्यकर्ताको तत्काल रिहाइ गर्न र घाइतेहरुलाई क्षतिपूर्ति प्रदान गर्न माग गर्नुभएको छ । ‘ आन्दोलनरत दलका नेता कार्यकर्तामाथि प्रहरी दमन गरी निर्घात कुटपिट गर्ने र गिरफ्तार गर्ने काम जुन ढंगले सरकारले गरेको छ, त्यसले हामी आन्दोलनरत दलहरुलाई थप आन्दोलित तुल्याएको छ ।’ गुरुङ्गको वक्तव्यमा भनिएको छ-’सरकारलाई यस्ता दमनकारी कार्यहरु तुरुन्त बन्द गर्न र गिरफ्तार गरिएका नेता तथा कार्यकर्ता अविलम्ब एवं बिना शर्त रिहा गर्नका साथै घाइतेहरुको निःशुल्क उपचार तथा क्षतिपूर्तिको माग गर्दछौँ ।’

संवेदनशील अंगमा हिर्काइयो : लिङदेन

शसस्त्र प्रहरीले आफ्ना कार्यकर्तालाई संवेदनशील अंगमा हिर्काएर गम्भीर घाइते बनाएको लिम्बुवानी नेता कुमार लिङदेनले आरोप लगाउनुभएको छ । ‘कार्यकर्तालाई प्रहरीले पक्राउ गरी अत्यन्त दुव्र्यवहार गरेको छ, त्यसमध्ये सुकबहादुर थेगिम र अग्नि पन्धाकलाई सम्वेदनशील अंगमा सशस्त्र प्रहरीले कुटपिट गरी गम्भीर घाइते बनाएका छन् ।’ शनिबार लिम्बुवान बन्दको आह्वान गर्ने मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषद्का अध्यक्ष कुमार लिङ्देन मिराकले बताउनुभएको छ । धनकुटाको ६ नं बुधबारेमा आफूहरुले मतदाता नामावली संकलनमा अवरोध नपुर्याई शान्तिपूर्ण विरोध गर्ने क्रममा प्रहरीले बल प्रयोग गरेको लिङ्देनको आरोप छ । घटना जारी वक्तव्यमा भनिएको छ-’फोटोसहितको मतदाता नामावली संकलन रोकिनु पर्छ भनेर शान्तिपूर्ण आवाज उठाइरहेका मञ्च सम्वद्ध परिषदका नेता कार्यर्ताहरुमाथि एकात्मक प्रशासनले अमानवीय रुपले दमन गरेको छ ।’

‘प्रहरीको दमनमा परी केन्द्रीय सदस्य सुकबहादुर थेगिम, एलभी (लिम्बुवान भोलेन्टियर)का कमान्डर अग्नि पन्धाक गम्भीर घाइते हुनु भएको छ ।’ लिङदेनद्वारा जारी वक्तव्यमा भनिएको छ- ‘सोही ठाउँबाट सचिवालय सदस्य प्रेमदीप थाम्सुहांग, केन्द्रीय सदस्य सुकबहादुर थेगिम, एल भी सिनियर उपकमान्डर मुक्शाम लाबुंग, एलभी कमान्डर अग्नि पन्धाक, इलाम बाँझो गाविस अध्यक्ष राजन साम्बा, मिक्लुक थुम अध्क्षय नेल्कन माखिम र पाँचथर जिल्ला सदस्य खाम्बेक आङदेम्बेलाई प्रहरीले पक्राउ गरी दुव्र्यवहार गरेको छ ।’

शुक्रबारको झडपपछि मतदाता नामावली संकलन गर्ने टोलीले बस्ने घर नपाएको र सेनाको ब्यारेक छेउको चौरीमा पाल टाँगेको तर, झडपको डरले मानिसहरु डराएका कारण नामावली संकलन गर्न नगएको लिङ्देनको दाबी छ । आफूहरुसँग सवारी साधन नभएको र भाडाका गाडीहरु बुधबारे जान नमानेकाले थप एलभी कार्यकर्ता त्यसतर्फ पठाउन नसकिएको उहाँले बताउनुभएको छ । तर, प्रशासनले चाँहि मतदाता नामावली संकलन जारी रहेको दाबी गरेको छ । सिडियो कार्यालय धनकुटाका अनुसार शुक्रबार सामान्य झडप भए पनि मतदाता नामावली संकलन रोकिएको छैन ।
onlinekhabar