भवनमा परी मृत्युहुने ५४०, अझै कयौँ बेपत्ता

ढाका - बङ्गलादेशको राजधानी ढाकामा गत अप्रिल महिनाको २४ तारिखमा भत्किएको एक व्यापारिक भवनबाट उद्वारको काम जारी नै रहँदा शनिबार बिहानसम्म मृत्यु हुनेको सङ्ख्या ५४० पुगेको बताइएको छ। समाचारमा जनाइएअनुसार शुक्रबार रातिअबेरतिर सो भत्किएको भवनबाट थप १५ जनाको शव निकालिएको हो। यो सङ्ख्यापछि बङ्गलादेशको उक्त भवनमा परी मारिने ५४० पुगेका हुन्।



सो भवनबाट शुक्रबार अपरान्हसम्ममा ५२५ को शव निकालिएको थियो। उक्त भवनमा परी अरुपनि केही नागरिक पुरिएको पनि समाचारमा जनाइएको छ। बङ्गलादेशको राष्ट्रिय सेनाले पनि सो समाचारको पुष्टि गरेको छ।

सो दुर्घटनाको उद्वारका लागि स्थापना गरिएको बङ्गलादेशी सेनाको कार्यालयले उक्त सङ्ख्या पुष्टि गरेको हो। सो कार्यालयका मेजर सजाद हुसेनले उक्त भवनबाट उद्वारको काम जारी रहेको जानकारी दिए।

उक्त भवनमा सो दुर्घटना हुने समयमा कम्तीमा पनि तीन हजार नागरिक तथा मजदुरहरु रहेको बताइएको छ। ती मध्ये दुई हजार ४३७ जनाको भने सुरुमै उद्वार गरिएको थियो। बिहबार बिहानसम्म उक्त भत्किएको भवनको भग्नावशेषबाट ४४१ जनाको शव निकालिएको जानकारी गराइएको थियो। त्यसपछि थप शवहरु हिजो पनि निकालिएको छ। सो दुर्घटनाको विरोधमा राजधानी ढाकामा हजारौँ नागरिकको विरोध कायमै रहेको छ। उनीहरुले उक्त भवन बनाउने मालिक तथा इञ्जिनियर र तयारी पोशाक सञ्चालन गर्ने मालिकलाई मृत्युदण्डको कारबहीको माग गरेका छन्।

सो भवन भत्किएको विषयमा सरकारी एक उच्च टोलीले अनुसन्धान थालेको छ। प्रारम्भिक रुपमा सो छानबीनबाट खासै केही देखिएको छैन। तर पनि शुक्रबार राति अबेरतिर सो समितिका एकजना अधिकारीले दिएको जानकारी अनुसार उक्त भवनमा लोडसेडिङ् भएपछि चारवटा निकै शक्तिशाली जेनेरेटर चलाउने गरिएको र ती चारैवटा जेनेरेटरको आवाजले गर्दा सो भवनमा निकै ठूलो कम्पन उत्पन्न हुने गरेको थियो।

प्रारम्भिक अनुसन्धानबाट तिनै जेनेरेटरको आवाज र कम्पनबाट घरको भित्ता हल्लिने गरेको र पछि त्यसैकारणले भत्किएको हुनसक्ने अनुमान गरिएको बताइएको छ। रासस/एपी