झापामा एचआइभीको जोखिम किन बढ्यो ?

५ जेठ, झापा । झापामा एचआइभी र एड्सको जोखिम बढ्दै गएको छ । अघिल्ला वर्षको तुलनामा यो वर्ष झापामा एचआइभी र एड्सको सङ्क्रमण अवस्था बढेर गएको देखिएको छ ।



एचआइभी र एड्सको सङ्क्रमण दर राष्ट्रिय तथ्याङ्कमा घट्दो रहेको पाइएपनि जिल्लामा भने यसको अवस्था बढ्दै गएको सरोकारवालाहरू बताउँछन् । जिल्ला एड्स समन्वय समिति (ड्याक) का संयोजक लोवर्टो श्रेष्ठका अनुसार एचआइभी र एड्सको सङ्क्रमणको अवस्था अघिल्ला वर्षको तुलनामा यो वर्ष बढेको छ ।

“तुलनात्मक रुपमा यो अवस्था भयावह हो”, उनले भनिन्– विभिन्न सङ्घसंस्थामार्फत एचआइभी र एड्सको जोखिम न्यून गर्न कार्यक्रम सञ्चालन भइरहे पनि उपलब्धि प्रगतिमूलक मान्न सकिँदैन ।

ड्याकको तथ्याङ्कमा अहिले जिल्लामा ३९४ जना एड्स सङ्क्रमित रहेका छन् । तीमध्ये महिला १६४, पुरुष २३० र बालबालिका तीनजना रहेका छन् । ती सङ्क्रमितमध्ये २१ जनाको मृत्यु भइसकेको श्रेष्ठले बताइन् ।

ड्याकमा आबद्ध विभिन्न सङ्घसंस्थाले गरेका परामर्श तथा रगत परीक्षणमार्फत गत चैत मसान्तसम्म ७ हजार ८८१ जनामा एचआइभीको जीवाणु फेला परेको थियो । यो दरसँग तुलना गर्ने हो भने मासिक पाँचजनामा एचआइभीको भाइरस थपिँदै गएको देखिन्छ । एड्स सङ्क्रमित अधिकांश यौन व्यवसायी, यौन व्यवसायीका ग्राहक, गृहिणी, आप्रवासी, लागुऔषध प्रयोगकर्ता र रगत जाँचबाट सङ्क्रमितहरू भएको बताइएको छ ।

श्रेष्ठका अनुसार रगतजन्य परीक्षणबाट सङ्क्रमितहरु २१९ जना छन् । त्यस्तै ड्याकको तीन वर्षे तथ्याङ्कमा समेत एचआइभी र एड्सको जोखिम अवस्था बढ्दो छ । तीन वर्ष अवधिमध्ये आर्थिक वर्ष २०६७÷६८ मा एचआइभी हुनेको सङ्ख्या दुई हजार ९१५ छन् भने त्यो वर्ष ५५ जनामा एड्सको सङ्क्रमण देखिएको थियो । २०६८÷६९ को आवमा दुई हजार ६१५ जनामा एचआइभी र ४६ जना एड्स सङ्क्रमित पाइएको थियो । तर अहिले चालु वर्षको १० महिनामा तीन हजार ५०० जनामा एचआइभीको जीवाणु देखिएको छ भने ४६ जना एड्स सङ्क्रमित भएको पाइएको छ ।

किन बढ्यो जोखिम ?

जिल्लाभित्र १३ वटाभन्दा बढी सङ्घसंस्थाले लागुऔषध, एचआइभी र एड्सको रोकथाम क्षेत्रमा काम गर्दै आएका छन् । अधिकांश गैरसरकारी संस्थाले लागुऔषधका प्रयोगकर्तालाई कार्यविधि बनाएर प्राथमिकतामा राख्दै आएका छन् । तर अहिले लागुऔषधभन्दा अन्य माध्यमबाट एचआइभीको जोखिम वृद्धि भएको सरोकारवाला निकायको दाबी छ । ड्याकका संयोजक श्रेष्ठले खुला सीमाका कारण आप्रवासी कामदारहरूको असुरक्षित यौन गतिविधिले पछिल्लो समय यसको जोखिम अवस्था बढाएको बताइन् । उनले भनिन् – लागुऔषध मात्र होइन, एचआइभी रोकथाम गर्न असुरक्षित यौन गतिविधिमा लाग्न निरुत्साही बनाउने विशेष कार्यक्रम ल्याउनुपर्ने देखिन्छ ।

झापामा वर्षेनी ३ करोड रुपैयाँको हाराहारीमा विभिन्न दातृ तथा सरकारी निकायको सहायता रकम स्थानीय गैह्र सरकारी संस्थाहरूले खर्च गर्दै आएका छन् । सन् २०११ को तथ्याङ्कमा झापामा करिब पाँच हजार लागुऔषध प्रयोगकर्ताहरू रहेको देखिएको छ । विदेशिएका व्यक्तिहरूबाटसमेत यहाँ एचआइभी भित्रिएको पाइएको छ । रासस