नायिका रेखा थापा आजदेखि एमाओवादी कार्यकर्ता

४ जेठ, काठमाडौं । चर्चित अभिनेत्री रेखा थापा एमाओवादीमा प्रवेश गर्नुभएको छ । आज एमाओवादीको केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा एमाले नेतृ उर्मिला अर्यालको पार्टी प्रवेशसँगै नायिका थापालगायत डेढ दर्जनले एमाओवादीमा प्रवेश गरेका हुन् ।



अर्याल, थापालगायतका पार्टी प्रवेश गर्ने नेता कार्यकर्तालाई एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष डा.बाबुराम भट्टराई, अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले फूलमाला अविर लगाएर पाटीमा प्रवेश गराउनुभएको हो ।

एमाओवादीले तत्कालीन माधव नेपाल सरकारविरुद्ध गरेको सडक आन्दोलनका बेला प्रचण्डसँग नाचेकी थापालाई सोही घटनादेखि एमाओवादी निकट कलाकार मानिँदै आएको थियो । यसअघि डा. बाबुराम भट्टराई नेतृत्वको सरकारका बेला कलाकारले गरेको सरकारविरोधी आन्दोलनमा रेखाको सहभागिता थिएन । थापाले आफूलाई चलचित्र विकास बोर्डको अध्यक्ष बनाउन प्रचण्ड र बाबुरामसँग लविङ गर्दै आउनुभए पनि उहाँलाई बोर्डमा ल्याइएन ।

चलचित्र क्षेत्रको विकासका लागि केही गर्ने र राजनीतिमा समेत अघि बढ्ने बताउँदै आएकी थापा एमाओवादीमा प्रवेश गरेपछि आगामी संविधानसभामा उमेद्वार बन्ने अनुमान गरिएको छ । पेरिसडाँडामा आयोजित औपचारिक कार्यक्रममार्फत उनीहरुलाई पार्टीमा प्रवेश गराइएको हो