यो बर्षका चर्चित न्युज मेकरहरु

विजय आवाज

यो बर्ष नेपाली सिनेमाका कलाकारका लागि सिनेमाको व्यापार चर्चामा आउने कारण बन्न सकेन । अधिकांश कलाकारका सिनेमाले व्यापारिक रुपमा असफलताको स्वाद चाखेपछि उनीहरु सेलाएजस्तै देखिए । तर विभिन्न किसिमका स्क्यान्डलका कारण कलाकारहरुलाई चर्चा पाउने बहाना मिल्यो ।


यो बर्ष नायक राजेश हमालको सिनेमाले व्यापारिक रुपमा सफलता पाउन सकेन । हमालले फरक स्वादका सिनेमालाई रोज्न नसकेपछि उनी पर्दाको भन्दा पनि समाजको मात्र हिरो बने । तर विवाह र प्रेमिकाले हमाललाई सर्वाधिक चर्चामा ल्यायो । प्रेमिका मधु भट्टराईसँग जोडिएका समाचारले उनलाई चर्चित न्यूज मेकर बनायो । यस्तै हमालले राजनीतिमा आउन सक्ने संकेत गरेर बजार तताएका थिए ।

नायिका रेखा थापा पनि यो बर्षको चर्चित न्यूज मेकर बनिन् । पति छविराज ओझासँगको डिभोर्स काण्डदेखि चलचित्र बिकास बोर्डका अध्यक्ष धमेन्द्र मरबैता ‘पप्पु’ सँग जोडिएका विभिन्न कुराले रेखा समाचारको पानामा सधै अटाइन् । पत्रकारलाई अफिसमै पुगेर थप्पड हानेपछि नायिका थापा विवादमा तानिइन् । उनका लागि यो बर्ष सिनेमाले भन्दा पनि स्क्यान्डलले चर्चामा रहने बाटो बनायो ।


यो बर्षको अन्त्यमा नायिका सुमिना घिमिरेको चर्चा एकाएक आकाशियो । पत्रकारलाई ज्यान मार्ने धम्की दिएकी सुमिनाको समाचारले संचारमाध्यम रंगिए । अभिनय गरेका कुनै पनि सिनेमा नचलेपनि काठमाण्डौमा घर किनेको, निर्मातासँग मलेसिया सुटुक्क पुगेको जस्ता खबरले सुमिनालाई न्यूज मेकर बनायो । नायिका प्रियंका कार्की पनि सिनेमाको व्यापार भन्दा डिभोर्स काण्डले समाचारमा छाइन् । पति रोचक मैनालीसँग १ बर्ष अघि नै डिभोर्स भएको बताएर प्रियंकाले चर्चा बटुलिन् ।

नायिका जिया केसीलाई भुवन केसीसँगको सम्बन्धले चर्चामा ल्यायो । जिया केसी भन्ने बित्तिकै उत्तेजक सिनेमा खेल्ने नायिका भनेर धेरैले चिने । नायक भुवन केसीलाई आफुले मनपराउने र उनीसँग बिहे गर्न चाहेको बताएर नायिका केसी चर्चामा आइन् । यस्तै उनले अभिनय गरेका २ चलचित्र ‘एटीएम’ र ‘बर्बाद’ को प्रदर्शनमै रोक लगाइपछि जिया राम्रो न्यूज मेकर बनिन् ।


नायिका ऋचा शर्मा र नायक विनय श्रेष्ठको प्रेमसम्बन्धमा आएको फाटोले संचारमाध्यममा राम्रै चर्चा पायो । चलचित्र ‘भीजा गल’ को असफलतासँगै यि दुई छुट्टएिपछि यो संचारमाध्यका लागि राम्रो मसला बन्यो ।

नायिका सुष्मा कार्की यो बर्ष आइटम गीत र प्रेमीका कारण चर्चामा आइन् । प्रेमी निरनसग विवाह अघि नै सँगै बस्न थालेपछि उनी चर्चामा आइन् । सिनेमामा उनले गरेको आइटम गीतको जाँदु यो बर्ष खासै चलेन । तर ‘वार’ नामक एक सिनेमाको छायांकनस्थलमै प्रेमिसँग मस्ती गरेपछि यसको निर्माण युनिटले उनलाई निकाल्यो । यो खबरले पनि सुष्मा सर्वाधिक चर्चामा रहिन् ।

नायिका निशा अधिकारी सगरमाथा आरोहणका कारण चर्चामा रहिन् । बर्षको अन्त्यमा सगरमाथा आरोहणका लागि त्यतातर्फ लागेपछि निशा धेरैको नजरमा परिन् । उनले अभिनय गरेका कुनै पनि सिनेमाले व्यापारिक रुपमा सफलता हाशिल नगरेपनि उनको चर्चा भने सगरमाथाको चुचुरो आरोहण गर्ने सपनासँगै चुलियो । नायिका पुजना स्त्रि यो बर्ष ‘रक्षा’ नामक सिनेमाका कारण चर्चामा रहिन् । ‘रक्षा’ मा एक उत्तेजक बेडसिनको दृश्य दिएपछि उनी समाचारको पात्र बनिन् । आश्रममा लागेर बालबच्चाको सेवा गरिरहेकी पुजनाले बेड सिन दिएपछि उनको चर्चा चुलिनु स्वभाविक नै थियो ।

नायिकाको तुलानामा नायकहरु यो बर्ष कमै मात्र न्यूज मेकर बने । नायक जीवन लुइटेल ‘मालतिको भट्टी’, ‘रिदम’ जस्ता सिनेमाले व्यापारिक रुपमा सफलता हाशिल गरेपछि चर्चामा रहे । नायक आर्यन सिग्देल ‘धुवाँ यो नशा’ र ‘के म तिम्रो साथी बन्न सक्छु’ नामक सिनेमाको असफलतासँगै चर्चामा रहन सफल भए । चलचित्र ‘हाइवे टु धम्पुस’ को छायांकनका लागि अमेरिका हानिएका राजवल्लभ कोइराला पनि समाचारमा अटाए । फेसबुकमा उनले पोष्ट गर्ने विभिन्न खालका स्टाटसले उनलाई राम्रो न्युज मेकर बनायो । अन्य नायकहरुको चर्चा यो बर्ष खासै सुनिएन ।