आगलागी, पचास वटा घरटहरा जल्यो, लाखौँको क्षति

परासी, चैत ३० - विद्युत् ट्रान्सफर्मरबाट सल्केको आगोले जिल्लाको सोमनी गाउँमा ५० घर जलेको छ भने रु पाँच लाखको क्षति भएको प्रारम्भिक अनुमान छ।

हिजो बेलुका सल्केको आगोले सोमनी गाविस-६ का पाँच परिवारको ५० वटा घरटहरा जलेको छ। बिजुलीको पोलमा राखिएको विद्युत् ट्रान्सफर्मरको प्यानल बोर्डमा जडान गरिएको फ्यूज बक्समा सर्ट भएकाले उछिट्टिएको आगो नजिकैको फुसको घरमा सल्केको गाउँलेले बताए।

आगलागीले स्थानीय हरिहर हरिजन, विनेसरी हरिजन, तुलसी हरिजन, रामदवन हरिजन र झगरु गुप्ताको घर र घरमा भएको लत्ताकपडा तथा नगदसमेत जलेका छन्।

पीडितले घटनास्थलमा दिएको जानकारीअनुसार हरिहर हरिजनको दुई घरगोठ र त्यसमा रहेको पपिङसेट चारार मेसिन, साइकल र लत्ताकपडा गरी करिब रु एक लाखको क्षति भएको छ।

उनको परिवारका ६ जना सदस्य छिमेकीको घरमा आश्रय लिइरहेका छन्। त्यस्तै विनेशरी हरिजनको चार वटा घरगोठ तथा त्यसमा रहेको साइकल, रु ५० हजार नगदी, लत्ताकपडा गरी रु एक लाखको क्षति भएको छ। उनका घरपरिवारका १० जना सदस्य बिचल्लीमा परेका छन्।

त्यस्तै, आगलागीले तुलसी हरिजनको पानी तान्ने एक वटा मोटर र केही काठ गरी रु ४० हजारको क्षति भएको दाबी गरेका छन्।

आगलागीसँगै रहेको रामदवन हरिजनको दुई वटा घरगोठ जल्दा रु १० हजार, साइकल र लत्ताकपडा गरी रु दुई लाख बराबरको क्षति भएको बताएका छन्। उनका परिवारको सात जना पीडित बनेका छन्।

सोही आगलागीले झगरु गुप्ताको पसल रहेको काठको ट्याङ्कीमा रहेको केही सामान ट्याङ्की तथा घरभित्रको गहँु पनि आगोको रापले क्षतिग्रस्त हुँदा रु ५० हजारको क्षति भएको जनाएका छन्।

आगलागीपछि आएको दमकल, स्थानीयवासी, नेपाली सेना र सशस्त्र प्रहरीको सहयोगमा करिब साढे घन्टा लगाएर आगो नियन्त्रण गर्न सकिएको हो। आगलागी हुँदा नजिकै रहेको महेन्द्र मावि सोमनीमा भएको अभिभावक भेलाका सहभागीले आगो निभाउनमा सहयोग गरेको स्थानीवासीले बताएका छन्। रासस