शेष घलेले काठमाण्डौमा पाँच तारे ‘शेराटन होटल’ खोल्ने २२५ कोठे होटल सन् २०१८ फेब्रुअरीबाट संचालनमा आउने

२६ चैत, काठमाडौं । अष्ट्रेलियालाई कर्मथलो बनाएका गैरआवासीय नेपाली शेष घलेले बिश्वबिख्यात ‘शेराटन होटल’को काठमाण्डौ चेनका रुपमा पाँचतारे होटल खोल्ने भएका छन ।

गत अक्टुवरमै काठमाण्डौंमा पाँचतारे होटल खोल्ने घोषणा गरेका घलेले होटलको ब्राण्डबारे टुंगो लगाएका थिएनन् । शेराटन ब्राण्डमा ग्लोबल चेन होटल चलाईरहेको स्टारवुड होटल एण्ड रिसोर्टस् वल्र्डवाइड ईंक र घलेको कम्पनी एमआईटी ग्रुप होल्डिङस नेपाल प्रालिवीच होटल संचालनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको सोमबार घोषणा गरिएको छ ।



काठमाण्डौंको कान्तिपथमा खोल्न लागिएको यो होटलमा अत्याधुनिक र सुबिधासम्पन्न २२५ कोठा हुनेछन भने होटलको संचालन सन् २०१८ फेब्रुअरी १ तारिखबाट सुरु हुने शेराटनले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

‘शेराटन काठमाण्डौं होटल संचालनका लागि सम्झौता भएको घोषणा गर्नु हाम्रा लागि निकै खुसीको बिषय हो’- शेराटन ग्रुपका उपाध्यक्ष निखिल मान्चरमले भने-’शेराटनकै ब्राण्डमा काठमाण्डौंमा पुनः प्रवेश पाउनु हाम्रा लागि निकै उत्साहपूर्ण छ ।’ शेराटनको भारतमा बलियो नेटवर्क रहेको र नेपाल भारतीय पर्यटकका लागि पनि मुख्य गन्तब्य रहेकाले नयाँ कदमले नेपालमा पर्यटन बिकाशका लागि पनि सहयोग पुग्ने उहाँले बताउनुभयो ।

यसअघि शेराटनले काठमाण्डौमा एभरेष्ट होटलसँग साझेदारी गरेको थियो । केही बर्षअघि उसले आफ्नो स्वामित्व बेचेर फिर्ता भएको थियो । ‘हाम्रो होटलमा शेराटनको झण्डा फहराउन पाउनु हाम्रा लागि पनि खुसीको कुरा हो’ एमआईटीका प्रमुख कार्यकारी अधिकृत शेष घलेले भने-’शेराटन ब्राण्डले पछिल्लोपटक ल्याएका सवै सेवा हामीले शेराटन काठमाण्डौमा पनि दिनेछौं ।’

हाल बिभिन्न मुलुकमा ३४ वटा होटल संचालन गरिरहेको शेराटन ग्रुपका अन्य २४ वटा होटल निर्माणाधीन अबस्थामा छन । सन् २०१५ सम्म बिश्वभर १ सय वटा होटल संचालन गर्ने योजना बनाएको शेराटन ग्रुपले दक्षिण एसियामा आफ्नो बिस्तारलाई तिब्र पारेको छ । भारतमा बलियो नेटवर्क बनाइसकेको अमेरिकी ओरिजिनको चेन होटलले हालै बंगलादेशमा ली मेरिडीयन होटल किनेको छ ।

नेपालमा होटल खोल्न लागेका घले अष्ट्रेलियाका सर्वाधिक दुई सय धनीको सूचीमा पर्छन । त्यहाँ कलेज र रियलस्टेट क्षेत्रमा लगानी गरेर सफल बनेका घलेले नेपालमा होटलमा लगानी सुरु गरेका हुन् ।