नेपाल अमेरिकासँग ९४ रनले पराजित, आज युगाण्डासँग भिड्दै

१६ वैशाख, काठमाडौं । बर्मुडामा सुरु भएको आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन थ्रीको पहिलो खेलमा नेपाल अमेरिकासँग ९४ रनले पराजित भएको छ । अपेक्षा गरे अनुसार बलिङ चल्न नसक्दा नेपालले हारको बाटो देखेको हो ।

खेलपछि कप्तान पारस खड्काले नेपालले राम्रो रन बनाएपनि टेलरको १ सय ६२ रनकै कारण निर्णय अमेरिकाको पक्षमा गएको बताए । ‘टिमका रुपमा हामीले अमेरिकालाई ४० रन बढी दियौं । ३ सय वा बढीमा ३ सय ३० हुन्थ्यो भने भन्न सकिन्नथ्यो’ उनले भने–तर एकै व्याट्यम्यानले १ सय ६२ रन बनाए । यो उनीहरुको दिन थियो । हामीले केही गर्न सकेनौं ।’ हरेक खेल त्यतिकै महत्वपूर्ण रहेको भन्दै उनले भने–हामी केही निराश छौं तर, यो खेलको सुरुवात मात्र हो । हाम्रा लागि हरेक खेल महत्वपूर्ण र हामीलाई कुनै पनि गल्ती गर्ने छुट छैन ।’

अमेरिकाले प्रस्तुत गरेको ३ सय ६७ रनको लक्ष्य पछ्याएको नेपाल अन्तिम एक बल बाँकी छँदा २ सय ७२ रनमै अलआउट भयो । नेपालका लागि कप्तान पारस खड्काले ७३ र सरद भेसवाकरले ७२ रन बनाए । शक्ति गौचनले ३९ र सुवास खकुरेलले २३, प्रदीप ऐरी र संजम रेग्मीले समान १४/१४ रन बनाए ।

उपकप्तान ज्ञानेन्द्र मल्ल ९ रनमा आउट हुँदा बसन्त रेग्मी ७, विनोद भण्डारी ४ र अनिल मण्डल शुन्यमै आउट भए । अमृत भट्टराईले खाता नै खोल्न सकेनन् । नेपाललाई सस्तैमा समेट्ने क्रममा नील मिग्यारोलले ३ तथा मोहमद गू र एल्मोर हचिम्सनले समान २/२ विकेट लिए ।

यसअघि समरसेट क्रिकेट क्लबको मैदानमा पहिले व्याटिङ थालेको अमेरिकाले ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ६६ रन बनाएको थियो । उसका लागि स्टीवन टेलरले १ सय २ बलमा १ सय ६२ रन बनाए । १२ छक्का र चौंका हानेका टेलरलाई रोक्न नसक्नु नेपाली बलरहरुको कमजोरी रह्यो । स्टीवन टेलर र ओलाण्डर बेकरले पहिलो विकेटका लागि १ सय २५ रनको साझेदारी गरे ।

प्रतियोगिता अन्तरगत नेपालले आज युगाण्डासँग खेल्नेछ । पहिलो खेलमा बर्मुडालाई १ सय १४ रनले हराएको युगाण्डालाई हराउनै पर्ने दबाव नेपाली टोलीमाथि छ ।
source:onlinekhabar