वीरेन्द्रको काटो खाने सापकोटाको परिवारले भने-’झुक्याइयो’

काठमाण्डौं । राजा वीरेन्द्रको काट्टो खाने ब्राह्मण स्व. दुर्गाप्रसाद सापकोटाको परिवारले त्यो घटना सम्झन चाहँदैन् । घटनाको ११ बर्षपछि दुर्गाप्रसादकी ब्राह्मणी ईश्वरी सापकोटाले आफ्ना कान नसुन्ने श्रीमानलाई झुक्याएर काट्टो खुवाइएको दाबी गरेकी छन् ।



‘उहाँले कान सुन्नुहुन्नथ्यो । झुक्याएर काट्टो खुवाएछन्, पछि थाहा भयो,’ ६८ बर्षकी ईश्वरीले भनिन ‘मेरो परिवारलाई यसले कहिल्यै नमेटिने दाग लाग्यो, जे हुन भइहाल्यो तर अब यो घाउ कोट्याउन चाहान्न ।’

दरबारमा १९ जेठ ०५८ मा भएको हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्रको वंशनाश भएको थियो । पुरानो प्रचलन अनुसार दुर्गाप्रसादलाई स्वर्गीय राजाको काट्टो खुवाएर चार भञ्ज्याङ कटाइएको थियो । ज्ञानेन्द्र परिवारले पशुपति मन्दिरनजिकै बस्ने दुर्गाप्रसादलाई काट्टो खुवाएको थियो । तर, त्यतिबेला नै उनको मानवअधिकार हनने भएको विषयमा तिब्र विवाद भयो । थानकोटको डाँडो कटाइएका दुर्गाप्रसाद केही दिनमै सुटुक्क घर फर्केका थिए । आठ बर्ष अघि २२ कात्तिकमा स्वर्गीय रानी ऐश्वर्याको जन्मदिन दुर्गाप्रसादको पनि निधन भएको नयाँ पत्रिकामा खबर छ । काभ्रे स्थायी घर भएको सापकोटाको परिवार अहिले तिलगंगा आँखा अस्पताल नजिकै बस्ने गर्छ । श्रीमानलाई काट्टो खुवाउँदा आफ्नो परिवार समाजमा अपहेलित र अपमानित हुनुपरेको इश्वरीको गुनासो छ ।

काट्टोको २१ हजार कसले खायो

दरबारको रेकर्ड अनुसार काट्टो खाएवापत दुर्गाप्रसाद सापकोटालाई ४० हजार १२ रुपैयाँ दिएको थियो । जसमा चढाइएको हात्ती फिर्ता गरेवापत २० हजार २ सय रुपैयाँ, घोडावापत २ हजार २ रुपैयाँ, जमिन दानबापत ५ हजार २ रुपैयाँ, घरदानवापत १० हजार २ सय रुपैयाँ दासदासीवापत १ हजार २ रुपैयाँ र सेफमा राख्न २ हजार २ रुपैयाँ प्रदान गरिएको थियो । तर, सापकोटा परिवारले १९ हजार मात्र पाएको दाबी गरेको छ । त्यसैले पाउने रकम मध्ये २१ हजार कसले खायो भन्ने प्रश्न उठेको छ ।