आइपिएल क्रिकेट : बेङ्गलोरले मुम्बईलाई हरायो

चैत २३ – इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको दोश्रो खेलमा बिहीबार राति रोयल च्यालेन्जर्स बेङ्गलोरले मुम्बई इन्डियन्सलाई हराएको छ ।



जितका लागि अन्तिम बलसम्म संघर्ष गरेको मुम्बईले अन्ततः दुई रनको हार ब्यहोर्‍यो ।



१ सय ५७ रनको लक्ष्य पच्छ्याएको मुम्बईलाई निर्धारित ओभरमा १ सय ५४ रनमा रोक्दै बेङ्गलोरले घरेलु मैदानमा विजयी शुरुवात गरेको हो । मुम्बईका लागि दिनेश कार्तिकले सर्वाधिक ६० रन जोडेपनि टिमलाई जिताउन सकेनन् । कप्तान रिकी पोन्टिङले २८ र सचिन तेन्दुलकरले २३ रन जोडे । बेङ्गलोरका विनय कुमारले ३ विकेट लिए ।



पहिले क्रिस गेलको विष्फोटक ब्याटिङको मद्दतले बेङ्गलोरले पुरै ओभर खेलेर पाँच विकेटको क्षतिमा १ सय ५६ रन बनाएको थियो । ५८ बलको सामना गरेका गेलले ११ चौका र पाँच छक्का हान्दै नटआउट ९२ रन जोडे ।



विराट कोहलीले २४ र अरुण कार्तिकले नटआउट १९ रनको योगदान गरे । अरु ब्याट्सम्यान भने खासै टिक्न सकेनन् । तिलकरत्ने दिल्सान र केके नायरले खाता नै खोल्न सकेनन् भने डेनियल क्रिष्टियनले ४ तथा मयंक अग्रवालले मात्र एक रन जोडे ।



आइपिएलमा आज : सनराईजर्स हैदराबाद र पुने वारियर्स – बेलुका सवा ८ बजे