एमाले नेता नेपालद्वारा चुनाव लक्षित घर दैलो अभियान सुरु

रौतहट, चैत २३ - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले चुनावलाई लक्षित गरी आफ्नो गृह जिल्ला रौतहटमा घर दैलो अभियान थाल्नु भएको छ । विहीवार गौर आएका नेपालले गौरको विभिन्न स्थानमा पुगेर स्थानीय बासिन्दाहरुसँग भेटघाट गर्दै नेपालले आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्नुभएको छ ।



स्थानीयबासिन्दासँगको भेटमा नेपालले माओवादी विस्थापित भई बाबुरामको सरकारलाई हटाएर मुलुकले धेरै राहत महसुस गरेको चर्चा गर्नुभयो । देशलाई नयाँ दिशामा लैजानका लागि सबै नागरिकले सहयोग गर्नु पर्ने बताउनुभयो ।

उहाँले तदाता नामावली संकलन कार्यमा अवरोध गर्ने र निर्वाचन नमान्ने जस्ता क्रियाकलाप अविलम्व त्यागी चुनावमा लाग्न साना दललाई आग्रह पनि गर्नुभयो ।

यसअघि प्रेस चौतारी रौतहट शाखाले आयोजना गरेको कार्यक्रममा नेपालले मुलुक निर्वाचन तर्फ उन्मुख भइसकेको अवस्थामा जेठ असार महिनामै संविधानसभाको चुनाव भए त्यसको लागि एमाले तयार रहेको बताउनुभएको थियो ।

नेपालले प्राविधिक तयारी विना नै निर्वाचनको कुनै अर्थ नहुने भएको भन्दै तयारी पुरा गर्न समय लाग्ने भएकाले कात्र्तिक महिना पनि निर्वाचनको लागि राम्रो समय भएको बताउनुभयो ।