शिर निहुराउने काम नगर्न कर्मचारीलाई कोइरालाको निर्देशन

अर्थमन्त्री शंकरप्रसाद कोइरालाले वर्तमान सरकारको पहिलो प्राथमिकता निर्वाचन भएपनि यसले विधिको शासनलाई पनि संगसंगै आत्मसात गर्ने बताएका छन्।







शनिबार मकवानपुर र वारामा अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतका निकायहरुको निरिक्षण भ्रमण गर्दै उनले सेवाग्राहीलाई सास्ती दिएर मन्त्रीको शिर निहुराउने काम नगर्न कर्मचारीलाई निर्देशन दिए। सरकारले विधिको शासनलाई आत्मसात गरेको बताउँदै मन्त्री कोइरालाले सेवाग्राहीहरुबाट अनावश्यक दूःख पाएको गुनासो आएमा कारबाही गर्ने चेतावनी दिए।



आफू सधैं उदार अर्थतन्त्रको पक्षपाती रहेको बताउँदै मन्त्री कोइरालाले उद्योग, कलकारखाना सञ्चालनमा आएका व्यवधान हटाउन सरकार प्रतिवद्ध रहेको बताए। त्यस अवसरमा मन्त्री कोइरालाले सिमेन्ट कारखाना निर्माण स्थलमा बिजुली, यातायात पुर्‍याउने सरकारी प्रतिवद्धता पूरा गर्न बजेट अभाव हुन नदिने विश्वास दिलाए।