अस्ट्रेलिया पठाउने भन्दै आफन्तबाटै ३२ लाख ठगी

१४ वैशाख, काठमाण्डौं । आकर्षक आम्दानीका लागि वैदेशिक रोजगारमा जाने प्रयासमा रहेका युवा आफन्तबाटै ठगिएका छन् । अस्ट्रेलियाबाट सञ्चालन हुने पानीजहाजमा काम लगाइदिने प्रलोभन देखाएर प्युठानका चार युवालाई आफन्तले नै ठगेका हुन् । प्युठान मरन्ठानाका चार युवा प्रतिव्यक्ति आठ लाख रुपैयाँका दरले ठगिएका छन् । ती युवाका नजिकका नाता पर्ने इश्वर केसी (हेमन्त) ले चारजनाबाट ३२ लाख रुपैयाँ उठाए तर अस्ट्रेलिया पठाउन सकेनन् । कृष्णबहादुर केसी, मदनकुमार केसी, केशव खड्का, र विष्णुराज बीसीले मासिक एक हजार पाँच सय डलर करिब एक लाख ३० हजार रुपैयाँ तलव पाउने आसमा ईश्वरलाई प्रतिव्यक्ति आठ लाखका दरले पैसा बुझाएका थिए ।

विदेश जाने प्रक्रियामा पर्यटक भिसामा मलेसिया पुगेपतिमात्र उनीहरु ठगिएको थाहा पाए । पैसा बुझाइसकेपछि उनीहरुलाई कोलकाता लगेर करिब एक महिना क्रुजको प्रशिक्षण दिइएको थियो । प्रशिक्षण पछि उनीहरुलाई चोरबाटो अर्थात पर्यटक भिसामा मलेसिया पुर्‍याइएको अन्नपूर्ण पोष्टमा खबर छ । मलेसियामा पानीजहाजको एजेन्ट र उनीहरुलाई त्यहाँ पुर्‍याउने एजेन्टका बीचमा पैसाको लेनदेन नमिलेपछि उनीहरुले आफू ठगिएको थाहा पाएका थिए ।