दलीय सहमति भए जुनसुकै बेला शपथ गराउन राष्ट्रपति कार्यालय तयार
काठमाडौँ, फागुन ३० – प्रधान न्यायाधीश खिलराज रेग्मीलाई चुनावी सरकारको नेतृत्व दिन आजै शपथ गराउने तयारी भइरहेको चर्चाका बीच राष्ट्रपति कार्यालयले दलीय सहमति भए जुनसुकै बेला शपथ गराउन आफूहरु तयारी हालतमा रहेको प्रतिक्रिया दिएको छ। ‘दलहरुले औपचारिक रुपमा भने केही जानकारी गराएका छैनन्,’ राष्ट्रपति कार्यालय स्रोतले नागरिकन्युजलाई बतायो, ‘तर, दलीय सहमति र बाधा अड्काउ फुकाए जतिखेर पनि शपथ गराउन हामी तयारी अवस्थामा छौँ।’
दलहरुले प्याकेज सहमति र बाधा अड्काउ फुकाउको प्रस्ताव राष्ट्रपति कार्यालयलाई पनि पठाएका थिए। राष्ट्रपति कार्यालय स्रोतले भने प्रधान न्यायाधीशले नै हेरिसकेको अवस्थामा र सर्वोच्चमा रिट पनि भएकोले अदालतले नै बाँकी निर्णय गर्ने भएको जनाउँदै थप बोल्न आवश्यक नभएको प्रतिक्रिया दिएको छ।