अर्घाखाँची, फागुन १० – ब्यापारी तारा सुनारमाथि गोली प्रहारको घटनामा संलग्न भएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । सन्धिखर्क ६ का व्यापारी रुद्र पराजुली, अर्घाखाँची पोखराथोक घर भई कपिलवस्तु तिलौराकोट बस्ने विमल भनिने लक्ष्मण सुनार र तिलौराकोटका सागर भनिने राजु आचार्यलाई प्रहरीले सार्वजनिक गरेको हो ।
उनीहरुबाट प्रहरीले एक थान पेस्तोल, ३ थान गोली एउटा गोलीको खोका, ४ लाख ४५ हजार ३ सय रुपैयाँ र ४ थान मोबाइल सेट पनि बरामद गरेको छ । फागुन ७ गते नरपानी गाविस ७ को जंगलमा सुनचाँदी ब्यवसायी तारा सुनारमाथि गोली प्रहार भएको थियो ।
प्रहरीले घटना भएको २ घण्टामा नै लक्ष्मण र राजुलाई पक्राउ गरेको थियो । उनीहरुले पराजुलीको निर्देशनमा आफुहरुले गोली हानेको स्वीकार गरेपछि पराजुलीलाई पनि पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक हिराबहादुर पाण्डेले बताउनुभयो ।
गोली प्रहारबाट घाइते सुनार र अभियुक्त पराजुली एउटै घरका दुई सटरमा ब्यापार गर्ने ब्यवसायी हुन् । घटना हुने बेला सुनारसंगै मोटरसाइकलमा रहेका पराजुलीकै योजनामा आफुहरुले गोली हानेको अभियुक्तले प्रहरीमा बयान दिएका छन् । अभियुक्तहरुलाई ५ दिन थुनामा राख्न प्रहरीले जिल्ला अदालतबाट म्याद थप गराएको छ ।
घटनामा पेटमा गोली लागेर घाइते भएका सुनारको चितवनमा उपचार भइरहेको छ ।
व्यापारीमाथि गोली प्रहार ,घटनाका तीन आरोपित पक्राउ