१५ फागुन, प्यूठान । प्यूठानका एक श्रीमानले आफ्नो श्रीमतीलाई आगोमा झोँसेर चार दिनदेखि फरार भएका छन् । दाखाक्वाडी-९, सालघारी निवासी डीला सुनारलाई श्रीमान निमारामले जिउँदै आगोको अगेनामा पोलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शनिबार रातिको समयमा कपालमा समाएर झुण्डिदै लछारपछार गर्दै कुटपिट गरी दनदनी बोलेको आगोमा जिउँदै पोलेको उल्लेख गर्दै पीडित डीलाले जिल्ला प्रहरीमा उजुरी दिनुभएको छ । मदिरा खाएर दिनहुँजसो कुटपिट गरिरहने अन्दाजी ४० वर्षका श्रीमानले शनिबार राति अत्यधिक पिटेर र आगोमा डढाएर जीउँदै मार्ने प्रयास गरेको बताउनुभयो । रातिको समयमा बेहोसी ढङ्गबाट जिउँदै आगोमा जलाउने प्रयास भएपछि साढे दुई वर्षको बच्चा घरमै छोडी पाँच घण्टा टाढाको माइत भागी आफूले ज्यान बचाएको पीडितले बताउनुभयो । ज्यान जोगाउन घरबाट भाग्दासमेत श्रीमानले लखेट्दै बाटोमै पुगेर दुव्र्यवहार र कुटपिट गरेको उल्लेख गर्नुभयो । उहाँ आइतबारदेखि सदरमुकाम खलङ्गास्थित जिविस प्यूठानको सहयोग, महिला तथा बालबालिका कार्यालयको समन्वयमा महिला सहयोग मञ्चद्वारा हिंसापीडित महिलाका लागि सञ्चालन गरिएको अल्पकालीन आश्रयस्थलमा बस्नुभएको व्यवस्थापक खिमा पौडेलले बताउनुभयो । आगोले पोलिएर घाइते अवस्थामा सदरमुकाम आएकी पीडितलाई महिला सहयोग मञ्चले प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गराइ जिल्ला प्रहरीमा न्यायका लागि उजुरी दिन सहयोग गरेको अध्यक्ष पार्वता आचार्यले बताउनुभयो । पीडित सुनारको टाउकाको कपाल डढेको, हात र मुखमा आगोले पोलेको एवम् शरीरभर निलडाम, चोटैचोट रहेको अवस्थामा अल्पकालीन आश्रयस्थलमा आएको उहाँले बताउनुभयो । श्रीमतीलाई जिउँदै जलाउने निलाराम हाल फरार भएकाले पीडकलाई पक्राउ गरी पीडितलाई न्याय दिलाउने निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक मित्रबन्धु शर्माले बताउनुभयो । रासस
श्रीमतिलाई आगोमा झोसेर श्रीमान फरार