पुर्व राजकुमार पारसको अबस्था झन झन नाजुक

केपी ढुंगाना, काठमाडौं, फागुन १२ - हृदयघातपछि चार दिनदेखि उपचाररत पूर्व युवराज पारस शाहको आन्तरिक रक्तश्राव भएपछि अवस्था थप जटिल बनेको छ। उपचाररत समितिभेज अस्पतालका अनुसार उनको पेटबाट रक्तश्राव भएको हो । उनको इन्डोस्कोपी गरी आवश्यक उपचार प्रक्रिया जारी रहेको अस्तालले जनाएको छ ।







अस्पतालका अनुसार उनको अवस्था अत्यन्त नाजुक छ। करिब दुई वर्षदेर्खि बैंककमा रहेका पारसलाई चार दिन अगाडि हृदयघात भएको थियो। अचेत अवस्थामा अस्पताल पुर्‍याइएका उनको स्वास्थ्य अवस्था सुधार हुन नसकेपछि सीसीयुमा राखेर उपचार भइरहेको छ । मंगलबार रातिदेखि अस्पताल भर्ना भएका उनको निकै नाजुक स्वास्थ्यबीच शरीरको तापक्रम हाइपो थर्मिया उपचार विधिबाट सामान्य अवस्थामा ल्याएर एमआरआई गर्ने तयारी गरिएको हो । बुधबार बेलुका नै एमआरआई गर्ने भनिए पनि पारसको शरीरको तापक्रम स्थिर रहेका कारण शुक्रबारसम्म एमआरआई हुन सकेन । एमआरआई रिपोर्टपछि पछिल्लो अवस्थाबारे बढी जानकारी हुने विश्वास गरिएको छ ।



'उहाँको स्वास्थ्यमा सुधार हुन सकिरहेको छैन, एमआरआई गर्नका लागि शरीरको तापक्रममा सुधार हुनुपर्ने रहेछ, त्यसैले तापक्रम सामान्य अवस्थामा आउने बित्तिकै एमआरआई गर्ने तयारी छ । त्यसको रिपोर्टपछि अरु बढी थाहा हुनेछ,' पारसका नातेदाले शुक्रबार साँझ टेलिफोनमा भने ।

मंगलबार राति करिब ९ बजे अचानक हृदयघात भएपछि अस्पतालमा उपचाररत शाहको स्वास्थ्यस्थिती नाजुक हुँदै गएको छ । दोस्रोपटक हृदयघातबाट ग्रस्त उनलाई यसअघि आईसियुमा उपचार गरिएको थियो तर पछि स्वास्थ्य स्थितिमा आशलाग्दो सुधार नआएपछि सिसियु (अति सघन उपचार कक्ष) मा सारिएको हो ।



डाक्टरका अनुसार उनको मुटुका चाल र रक्तचाप अझैसम्म स्थिर छ भने मस्तिस्कले पनि प्रतिक्रिया दिन सकीरहेको छैन । विरामी पारसको उपचारमा सुरुदेखि नै जुटेका व्यवसायी सुनिल खड्काका अनुसार बुधबार र बिहीबार दुई पटक गरिएको उनको टाउकाको सिटीस्क्यानबाट पनि सामान्य इन्फेक्सनबाहेक खासै गडबढी नदेखिएपछि थप उपचारका लागि एमआरआई गर्नुपर्ने आवश्यक भएको चिकित्सकहरुले जनाएका छन् ।

एमआरआई गर्नुपूर्व शरिरको तापक्रम सामान्य अवस्थामा हुनुपर्ने भएकाले शुक्रबार बिहानैदेखि डाक्टरले उनलाई हाइपो थर्मिया बिधिबाट शाहको उपचार गरीरहेका छन् । बैंककस्थित नेपाली राजदुत डोर नाथ अर्यालका अनुसार पारस निकै 'क्रिटिकल एण्ड स्टाबल' (जटिल तर स्थिर) अवस्थामा छन् । दोस्रो पटक हृदयघात भएकाले पारसको स्वास्थ्यस्थिति नाजुक भएको जनाइएको छ । उनलाई ४ बर्ष अघि पनि हृदयघात भएको थियो । त्यसबेला उनलाई नर्भिक अस्पतालमा गरिएको ५० मिनेट लामो शल्यक्रियापछि स्वास्थ्यमा सुधार आएको थियो ।



बैंककमा शाहको थुनिएको धमनीको प्वाल चिकित्सकहरुले बिहीबार नै बेलुनको सहायताले खोलिसकेका छन् । उनलाई सुरुदेखि नै सहयोग गर्दै आएका खड्काले समितिवेज अस्पताल परिसरबाटै जानकारी दिएअनुसार शाहको स्थिर स्वास्थ्य स्थितीको सकारात्मक सुधारका लागि समितिवेज अस्पतालका चिकित्सकहरु लागिरहेका छन् । तर यसमा अझैसम्म पनि सफलता पाउन सकेका छैनन् । अझै पनि अचेत अवस्थामै रहेका शाहले भेन्टीलेटरकै सहायतामा श्वासप्रश्वास गरिरहेका छन् ।



त्यहाँस्थित कार्यबहाक राजदुत डोलनाथ अर्यालका अनुसार शाहलाई शुक्रबार बिहानैदेखि चिकित्सकहरुले डा. राजीव शाही बाहेकका कसैलाई भेट्न अनुमति दिएको छैन । यसैबीच पारसलाई भेट्न पत्नी हिमानी शाह शुक्रबारै बैंकक आइपुगेकी छन् । उनी थाई एयरको बिमानबाट बैंकक आइपुगेकी हुन् । यसअघि बुधबारदेखि नै बहिनी प्रेरणा लगायत पाँच जना सदस्य बैंककमै छन् ।



हाल अस्पतालमा खड्कासहित शाहका ज्वाईँ राजीव शाही, र शाहकी थाइ महिला मित्र ले हेरबिचार गरिरहेका छन् । पारसलाई उनकी थाइ महिलामित्रले बिहीबारसम्म भेटेपनि शुक्रबारदेखि राजीव शाही बाहेक अन्यलाई भेट्न दिएको छैन । उनका समर्थक, शुभचिन्तक एवं सहयोगीहरुले उनको स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।