क्याम्पसमा तोडफोड हुन थालेपछि व्यापकरुपमा प्रहरी परिचालन

सप्तरी,माघ ११ । सप्तरीको राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा तोडफोड हुन थालेपछि विहिबार बिहानैदेखि क्याम्पसमा व्यापकरुपमा प्रहरी परिचालन गरिएको छ । क्याम्पसमा आन्दोलनरत आंशिक शिक्षक तथा स्ववियु पदाधिकारीबीच भएको झडपपछि बुधबार क्याम्पसमा तोडफोड भएको थियो । आन्दोलनरत आंशिक शिक्षक र स्ववियु पदाधिकारीहरुबीचको विवादको क्रममा क्याम्पस प्रमुखको कार्यकक्षमा रहेका सम्पूर्ण फर्निचर तोडफोड भएको थियो । तोडफोडका कारण एक लाखभन्दा बढीको क्षति भएको छ । विहिबार पनि थप झडप हुन सक्ने भएकोले क्याम्पसमा बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको र क्याम्पस परिसरमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी व्यापकरुपमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

क्याम्पसले शिक्षक आह्वानका लागि निकालेको विज्ञापनपछि शिक्षक नियुक्ति गर्न अन्तर्वार्ता लिइरहेको अवस्थामा क्याम्पसमा विवाद भएको हो । अन्तर्वार्ता लिनुअघि नै क्याम्पसमा पुगेका आंशिक शिक्षकहरुले अन्तर्वार्ता सुरु हुनासाथ आक्रमण गर्न खोज्दा उपस्थित प्रहरीको टोलीले सबैलाई नियन्त्रणमा लिँदै लाठी खोसेको थियो । यसक्रममा आक्रमण गर्न आएका र केही स्ववियु पदाधिकारीबीच झडप हुँदा आधा दर्जनभन्दा बढी घाइते भएका थिए । यसअघि गत माघ ४ गते आंशिक शिक्षकहरुले पठनपाठन अवरुद्ध गरेर समस्या खडा गरेको भन्दै क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले क्याम्पसमा तोडफोड र आगजनी गरेका थिए । रासस