१७ बर्षपछि खुलेको शिक्षक आयोगको विज्ञापनमा पनि त्रुटि

२१ पुस, काठमाण्डौं । शिक्षक सेवा आयोगले शुक्रबार प्रकाशन गरेको शिक्षक विज्ञापनमा त्रुटि देखिएको छ । १७ वर्षपछि गरिएको विज्ञापनमा शिक्षकका लागि आवेदन दिएका उम्मेदवारको परीक्षा मिति ९ महिनाअघि अर्थात् ९ जेठ ०६९ उल्लेख गरेर आयोगले त्रुटि गरेको छ । विज्ञापनमा परीक्षा फारम २५ माघसम्म सबै जिल्ला शिक्षा कार्यालयमा बुझाउन भनिएको छ भने दोब्बर दस्तुर तिरेर ३ चैतसम्म फारम भर्न सकिने बताइएको छ । तर, परीक्षा भने ९ जेठ ०६९ देखि हुने बताइएको छ । आयोगका प्रशासकीय अधिकृत खगेन्द्रप्रसाद नेपालले कम्प्युटर टाइपमा गल्तीले मिति फरक भएको बताए । उनले ९ जेठ ०७० मा माध्यमिक तहको, १० जेठमा निम्नमाध्यमिक तहको र ११ जेठमा प्राथमिक तहको परीक्षा हुने बताए । १९ मंसिरमा बसेको मन्त्रिपरिषद्को बैठकले शिक्षक सेवा आयोग नियमावली संशोधन गरेपछि आयोगले विज्ञापन गरेको हो । शुक्रबार १२ हजार ८ सय ९० शिक्षकका लागि गरिएको विज्ञापनमा मावि तहमा २ हजार २ सय ४६, निम्नमावि तहमा २ हजार ७ सय ६७ र प्रावितहमा ७ हजार ८ सय ७७ शिक्षक माग गरिएको छ । नेपालका अनुसार सबभन्दा बढी काठमाडौंमा ४ सय ८० प्रावितर्फको शिक्षकका लागि विज्ञापन गरिएको छ । यस्तै, मनाङमा निमावितर्फ जम्मा ४ सिट मात्र रहेको छ । मावितर्फ काभ्रेमा सबै भन्दा बढी ८० र कम मनाङकै लागि माग गरिएको छ । निमावितर्फ बढी सुनसरीमा एक सय एक र कम मनाङका लागि ८ शिक्षकको विज्ञापन खुला गरिएको छ । प्रशासकीय अधिकृत नेपालले परीक्षा लिइसकेपछि भदौसम्म नतिजा प्रकाशन गरिने जानकारी दिए । आयोगले ११ वैशाख ०६३ पछि रिक्त शिक्षकका लागि मात्र विज्ञापन गरेको हो । माध्यमिक तहका लागि सम्बन्धित विषयमा स्नातक उत्तीर्ण, १० महिने तालिम र अध्यापन अनुमति पत्र चाहिने बताइएको छ भने निमाविमा सम्बन्धित विषयमा प्रमाण पत्र तह उत्तीर्ण, १० महिने शिक्षण तालिम र अध्यापन अनुमति पत्र अनिवार्य तोकिएको सौर्य दैनिकमा खबर छ ।