बाबुरामको विकल्प खोज्ने मधेसी मोर्चाको रणनीति राष्ट्रपतिलाई भेटेर दबाव दिइने

१० माघ, काठमाडौं । सत्तारुढ संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आगामी जेठमा संविधानसभाको निर्वाचन सुनिश्चित गर्ने गरी प्रधानमन्त्री डा. बाबुराम भट्टराईको विकल्प खोज्ने भएको छ । दुई दिनसम्म गोकर्ण रिसोर्टमा बसेको मधेसी मोर्चाको बैठकले स्वतन्त्र व्यक्तिको नेतृत्वमा सहमति हुन्छ भने स्वीकार गरेर चुनावमा जाने निर्णय गरेको हो । ‘जेठ पहिलो वा दोस्रो सातामा संविधानसभाको चुनाव गराउन पहल गछौर्ं’ फोरम गणतान्त्रिकका एकवाल अहमदले अनलाइनखबरसँग भन्नुभयो-’दलहरुको नेतृत्वमा सहमति हुँदैन भने स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार बनाएर भए पनि चुनावमा जानुपर्छ ।’ मधेसी मोर्चाले चुनावका लागि सहमति नगर्ने हो भने आन्दोलनमा उत्रने चेतावनी दिएको छ । साथै उसले एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको संघीय लोकतान्त्रिक गणतान्त्रिक गठवन्धनमा मधेसी मोर्चाको भूमिकालाई प्रभावकारी बनाउने निर्णय गरेको छ । राष्ट्रपति र सरकारसँग असन्तुष्ट मधेसी मोर्चाले सरकार गठनका क्रममा भएको चारबुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएको छ । ‘चारबुँदे सहमति कार्यान्वयन नभएकोमा सरकारप्रति असन्तुष्टि जनाएका छौं’ एक नेताले भने-’यसबारे माओवादी र प्रधानमन्त्रीसँग नयाँ शिराबाट छलफल गर्छाैं ।’ मधेसी मोर्चाले समावेशीकरणसम्वन्धी सहितका अध्यादेशहरु राष्ट्रपतिले रोकेर राखेको भन्दै असन्तुष्टि जनाएको हो । यसबारे राष्ट्रपतिलाई भेटेर दबाव दिने मोर्चाको रणनीति बनाएको छ । सरकारमा बढ्ता ध्यान गयो: मन्त्री यादव मोर्चाको नयाँ रणनीति बनाउन जुटेका सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले मोर्चाले मधेसका मुद्दालाई भन्दा सरकारलाई बढ्ता प्राथमिता दिएर कमजोरी गरेको बताउनुभयो । ‘हामी सत्तामा बढी केन्दि्रत भयौं, चारबुँदे सम्झौता र अन्य सहमतिहरु कार्यान्वयन गराउनेतर्फ कम ध्यान गयो भन्ने बैठकमा सबैले महसुस गरेका छौं, उहाँले भन्नुभयो,’ अब संघर्षमा केन्दि्रत हुने नीति लिइने छ ।’ मन्त्री यादवले ६ दल संलग्न मधेसी मोर्चालाई पार्टीको रुप दिनेबारे पनि गम्भीर छलफल भएको अनलाइनखबरलाई जानकारी दिनुभयो । ‘मधेसमा एउटै पार्टी बनाउनेबारे छलफल भएको छ’, यादवले भन्नुभयो-’मोर्चालाई समेत विस्तार गरिने छ ।’