मरेपछि ऋणि हुने डरले भत्ता लिन इन्कार !

११ माघ, धादिङ । ज्येष्ठ नागरिकलाई दिइएको सामाजिक सुरक्षा भत्ता कर्मचारीले नै गायव पारिदिएको, घरका सदस्यले झुक्याएर खाइदिएको, बाबुआमालाई भत्ता बुझेर खर्च गर्न नदिएको भन्दै घरबाट निकालिदिएको जस्ता समाचार दैनिकजसो बाहिर आइरहेका छन् । कतिपयले उमेर ढाँटेर पनि आफुलाई जेष्ठ नागरिक बनाएर त कतिपयको मृत्यु हुँदा पनि उनीहरुको नाममा अर्कैले भत्ता बुझिलिने प्रवृत्ति बढिरहेको बेला दक्षिणी धादिङको विकट माङराङगाउँका एक वयोवृद्धले भने सामाजिक सुरक्षा भत्ता लिनुपर्ला कि भनेरै आफ्नो नागरिकता समेत बनाएका छैनन् । त्यस्ता व्यक्ति हुन, जोगिमारा ५ माङराङका ८२ बर्षका खुँडे चेपाङ । जेष्ठ नागरिकले पाउने गरेको सामाजिक सुरक्षा भत्तालाई उनी राज्यको ऋण मान्छन् । ‘बिनाकाम अर्काको केही लिनु हुँदैन,’ उनले भने । ‘सरकारको ऋणी भएर मर्न नपरोस् भनेर आफुले नागरिकता नबनाएको ‘उनले बताए । ‘मर्ने बेलामा सरकारको धन सित्तैमा खाएर म मर्न चाहन्न,’ उनले भने । उनलाई नागरिकता बनाउन पटक पटक आग्रह गरेपनि उनले इन्कार गरेको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।