मन्त्रीको झण्डावाल गाडी हराएपछि प्रहरीमा खैलाबैला मच्चियो !

९ माघ, काठमाडौं । सानातिनो सरसामान हराउनु त स्वाभाविकै हो, तर, सोमबार साँझ बहालवाला मन्त्रीको झण्डावाल गाडी मन्त्री निवासबाटै हराएपछि केहीबेर उपत्यकाका तीनै जिल्लाका प्रहरीवीच खैलाबैला मच्चियो । आफ्नो झण्डावाल गाडी हराएको भन्दै बहालवाला मन्त्रीले नै प्रहरीलाई खबर गरेपछि गाडी भाग्न सक्ने नाकाहरुमा तत्कालै सेटबाट खबर गरियो ।

हराएको झण्डावाल गाडी रहेछ, सिंचाईमन्त्री महेन्द्रप्रसाद यादवको । सो गाडी मन्त्री क्वार्टरबाटै हराएको प्रहरीलाई बताइएको थियो । आफूले चढ्दै आएको कालो रंगको सरकारी गाडी हराएको भन्दै मन्त्री यादवले सोमबार साँझ प्रहरीलाई खोजी गरिदिन भनेका थिए । हराएको सूचना आएको केही समयपछि मन्त्रीको झण्डासहितको गाडी प्रहरीले भक्तपुरको लोकन्थलीमा फेला पारेर मन्त्रिक्वाटर फर्काएको थियो । मन्त्रीले प्रहरीलाई नै उजुरी गर्नुपर्ने गरी गाडी लिएर बेपत्ता हुने मानिसचाहिँ अरु कोही नभएर मन्त्रीकै ज्वाइँ रहेछन् । प्रहरीले उनलाई मातेर भिल्लु भएको अवस्थामा नियन्त्रणमा लिएको थियो । महन्थ ठाकुर नेतृत्वको तमलोपाका तर्फबाट समानुपातिक सभासद् बनेका यादव यतिबेला तमलोपा फुटाएर ‘तमलोपा नेपाल’का अध्यक्ष छन् । सर्लाही बसन्तपुर-५ का यादवले हालको बसोबास ललितपुरको टीकाथली-७ बताउने गरेका छन् । आफ्ना पाँच दाजुभाइ सगोलमा रहेकाले अंशवण्डा नभएको तर घर व्यवहार अलग रहेको बताउने मन्त्री यादवको सर्लाहीका विभिन्न गाविसमा २० विघा जग्गा रहेका छ । तर, हेटौडाको एक फाइनाइन्सबाट ५० हजार ऋण लिएर किनेको एउटा मोटर साइकलमात्रै साथमा रहेको मन्त्री यादवले मन्त्रालयमा बुझाएको सम्पत्ति विवरणमा उल्लेख छ ।