देशभर वर्षा र हिमपात आज दिउँसोदेखि सुधार हुने
६ माघ, काठमाडौं । शुक्रबार राति देशभर पानी परेको छ । दिउँसो कमजोर रहेको पश्चिमी वायु राति एकाएक सकृय भएपछि देशभर वर्षा भएको हो । उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । हिमपातले पश्चिमी क्षेत्रको जनजीवन प्रभावित भएको छ ।
शुक्रबार दिउँसोसम्म पश्चिम र राजधानीमा हल्का वर्षा भएको थियो । तर राति सबैतिर पानी परेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी क्षेत्रबाट शुरु भएको पश्चिमी वायुको प्रभाव पूर्वी क्षेत्रसम्म पुगेको छ । पूर्वका धेरै ठाउँमा शनिबार विहानसम्मै वर्षा कायम छ । शनिबार अपरान्हदेखि भने मौसममा सुधार आउने विभागले जनाएको छ । पश्चिमी क्षेत्रको मौसम दिउँसोदेखि नै सुधार हुने र पूर्वी क्षेत्रमा पनि साँझपखदेखि मौसममा सुधार आउने विभागको भनाई छ । यसवर्ष ढिलो गरी हिउँदे वर्षा भएको मौसमविदले बताएका छन् ।