छात्रामाथि जबर्जस्ती गर्न खोजेको आरोपमा प्रधानाध्यापक पक्राउ
७ माघ, परासी । जताततै महिला हिंसाका घटना बाहिर आइरहेका बेला नवलपरासी छिमेकी विद्यालयमा अध्ययन गर्ने छात्रामाथि यौन दुब्र्यवहार गर्न खोजेको आरोपमा प्रहरी प्रधानाध्यापकलाई नियन्त्रणमा लिएको छ ।
सोमनी गाविस-३ घोडाहास्थित जनता प्राविका प्राध्यापक ३८ वर्षीय रामनाथ चौधरीले पटक पटक जबर्जस्तीको प्रयास गरेको भन्दै निरकु माविमा अध्ययन गर्ने १६ वर्षीया छात्राले प्रहरी कार्यालयमा निवेदन दिएको थिइन् । चौधरीको घरमा टयुसन पढ्न जाँदा बिहीबार घर कोही नभएको मौका पारी यौन दुब्र्यवहारको प्रयास गरेको उनको आरोप छ । बिहानै ट्यूशन शुल्क लिएर आउन लगाएका चौधरीले जबर्जस्ती गर्न थालेपछि आफू भाग्न सफल भएको पीडित छात्राले प्रहरीलाई बताइन् । सरले त्यस्तो गरेको कुरा बाहिर भने जे पनि गरिदिने धम्की दिएको र डरका कारण बाहिर नभनेको भएपनि बिहीबार भने अति गरेपछि असैह्य हुँदै आफूले जिल्ला प्रहरी कार्यालयमा कारबाहीको माग गर्दै छात्राले प्रहरीमा निवेदन दिएकी छिन् । छात्राले दिएको जाहेरीका आधारमा प्रधानाध्यापकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र थापाले बताउनुभयो ।