नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बृद्धि
एजेन्सी – भारतको राजधानी नयाँ दिल्लीमा सन् २०१२ मा बलात्कारका घटना यसअघिको वर्षका तुलनामा २३ प्रतिशतले बढेको पाइएको छ ।
भारतको नगर प्रहरीले शुक्रबार निकालेको एक तथ्याङ्कमा सन् २०१२ मा बलात्कार र महिला विरुद्धको हिंसाका घटनामा नै बृद्धि भएको पाइएको उल्लेख छ । सो तथ्याङ्कमा सन् २०१२ मा राजधानी नयाँ दिल्लीमा बलात्कारका घटनामा मात्र २३ प्रतिशतले बृद्ध भएको देखिन्छ । एकजना २३ वर्षिया बालिकाको बलात्कारबाट हत्या भएको र सो हत्यामा संलग्नहरुलाई अदालतमा मुद्दा चलाइरहेका बेला यो समाचार सार्वजनिक गरिएको छ । दिल्ली प्रहरीका प्रमुख जिरज कुमारले शुक्रबार नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भने– नयाँ दिल्लीमा समग्र भारतमा भन्दा पनि बढी बलात्कारका घटना दर्ता भएका छन् । हालैका दिनमा भएका महिलामाथिका आक्रमण एवम् बलात्कारका घटनालाई कम गर्न तथा महिलाको सुरक्षा गर्न नसकेको आरोप लागिरहेका उनले भने– हामी सक्दो प्रयास गरिरहेकै छौं, प्रहरीको अनुपस्थितिमा घटना बढिरहेका छन् । प्रहरीको तथ्याङ्क भन्छ– सन् २०१२ मा नयाँ दिल्लीमा मात्र ७०६ वटा बलात्कारका घटना दर्ता भएका छन् । सो तथ्याङ्क अघिल्लो वर्षको भन्दा २३.४३ प्रतिशतले बढी हो । सामुहिक बलात्कारमा परी निधन भएकी २३ वर्षीय ती युवतीमाथि भएको ज्यादतिकै हप्ता गत महिना नयाँ दिल्लीमा मात्र बलात्कारका ४५ वटा घटना दर्ता भएका थिए । सो हप्ता नयाँ दिल्लीमा महिलामाथिको अन्य यौनजन्य हिंसाका ७५ वटा घटना पनि दर्ता भएका प्रहरीले जनाएको छ । करिब डेड करोड जनसङ्या रहेको नयाँ दिल्ली सहरमा यसअघि पनि बलात्कार र महिला हिंसाका घटना देशका अन्य सहरका तुलानामा बढी नै हुने गर्दथे । त्यसैले अधिकारवादीहरुले नयाँ दिल्लीलाई बलात्कारीको सहरको उपनाम दिएका छन् । अधिकारवादीहरुले प्रहरीले दिएका भन्दा निकै धेरै घटना नयाँ दिल्लीमा हुने गरेका दाबी गर्दछन् । कतिपयलाई प्रहरीले नै उजुरी नलिएर हतोत्साही पार्ने गरेको उनीहरुको आरोप छ । त्यसैगरी कतिपय महिलाले सामाजिक अपहेलनाको डरले पनि आफुहरु बलात्कृत भएपनि प्रहरीमा उजुरीका लागि नजाने गरेको पाइएको पनि अधिकारवादीहरुले बताएका छन् । नयाँ दिल्लीमा बलात्कारमा परी ती युवतीको निधन भएपछि महिला, अधिकारवादी एवम् नागरिक समाजले बलात्कारको घटनाको दोषीलाई कडा भन्दा कडा कारबाहीको मागगरी प्रदर्शन जारी राखेका छन् ।