भारी बोकेर छाक टार्थे "धुर्मुस"
सीताराम कट्टेल “धुर्मुस” म सोलुखुम्बुको नेचा बेतघारीमा ०४० सालमा जन्मिएको हुँ । सानैदेखि बोल्न डराउने भएकाले म धेरै समय एक्लै रुन्थेँ । बुबाले यो धेरै रोयो लगेर मिल्काइदिऊँ भन्नुहुन्थ्यो । ‘पढ्’ भनेपछि पढिहाल्ने मेरो स्वभाव थियो । साथीहरूले हिँड् सीताराम पौडी खेल्न भनेपछि म स्कुल छोडेर दौडिहाल्थेँ । पौडी खेल्न जाँदा लेउमा चिप्लिएर लडेको चोट निधारमा अझै छ । घरको म जेठो हुँ, मभन्दा मुनि दुइटा भाइ र एउटी बहिनी छन् । बुबाआमा घाँसदाउरा जाने गर्नुहुन्थ्यो । मैले नै भाइ हेर्नुपर्ने । पहाडको ठाउँ धेरै दुःख थियो । चामलको भात खानु उत्सवझँै हुन्थ्यो । बुबाले पनि मधेस र्झने कुरा गरिरहनुभएको थियो । फुपूदिदी मधेसतिरै भएकाले पहाड छोड्ने निर्णय गरियो । ०४९ सालमा हाम्रो परिवार झापाको गौरादहमा बसाइँ सर्योम । साँच्चै भन्ने हो भने कोदो र मकैको ढिँडो खाँदा दिक्क भएर चामलको भात खाने रहरले हामी मधेस झरेका हौँ । झापा झरेपछि म गौरादहको केदार प्राविमा कक्षा ४ मा भर्ना भएँ । पहाडबाट झरेको भए पनि म चार कक्षामा ‘अपर्झट’ सेकेन्ड भएँ । त्यसपछि मलाई ‘एल्लो हाउस’ को क्याप्टेन बनाइयो । एक दिन विद्यालयको वाषिर्कोत्सवका अवसरमा भव्य सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । त्यो दिन गीत गाउने अधिकांश साथी मेरो हाउसबाट थिए । तर, उनीहरू मलाई थाहै नदिई भुवन केसीको अर्पण फिल्म हेर्न भागेछन् । मैले सिफारिस गरेका साथी भागेपछि म पनि भाग्नुपर्ने अवस्था आयो । म भाग्न लागेको थिएँ । सरले एल्लो हाउसको क्याप्टेनलाई खोज भनेपछि स्कुलका अरू साथीले मलाई समातिहाले । अब तैंले नै गीत गाउनुपर्छ भनेपछि मेरो मुटुले ठाउँ छोड्लाजस्तो भो । रुँदै स्टेजमा गएँ र ‘मायालु आफ्नी आमालाई बिर्सने छोरा को छ र ?’ गाउन सुरु गरेँ । सभापतिज्यू भन्नुपर्नेमा अतिथिज्यू भनेछु । सरले ‘तेरीमा लठुवा’ सम्बोधन नगरी ‘गा’ भनेपछि मैले सकी-नसकी गाएँ । कार्यक्रम सकिएपछि रुँदै घर फर्किएँ । स्कुलको त्यो घटनापछि कसरी बोल्न सिक्ने भन्ने चिन्ताले मलाई सताइरह्यो । त्यो वेला गाउँमा नाटक देखाउने गरिएको रहेछ । नाटक हेरेर मलाई पनि अभिनय गर्ने रहर लाग्यो । घरमा भनेको मात्रै थिएँ, साफसँग कुटाइ खाइयो । सबै सुतेपछि राति भागेर रिहर्सलको लागि जान थालेँ । पाँच कक्षा पास गरेपछि गौरादहको ज्ञानज्योति माविमा भर्ना भएँ । एक दिन स्कुलका सबै सरको क्यारिकेचर गरेर सुनाएँ । सबै खुसी भए अनि प्रशंसा गरे । एकजना सरले भने मरणासन्न हुने गरी पिट्नुभयो । झापा झरेपछि पनि मेरो परिवारको आर्थिक अवस्था दयनीय नै थियो । बिहानभरि हलो जोतेर स्कुल जान्थेँ । हाजिर सुरु नभई कहिल्यै स्कुल पुगिनँ । घरको मात्र होइन, म गाउँकै हली थिएँ । बर्खामा १०/१२ बिघा खेत एक्लै जोतेको छु मैले । मलाई अभिनयको रस पसिसकेको थियो । मलाई लाग्यो, म हलो जोतेर कलाकार हुन सक्दिनँ । एसएलसी दिएपछि मैले काठमाडौं जाने सोचाइ बनाएँ । कसरी जाने भन्ने अन्योल थियो । १७ सय रुपैयाँ र एउटा तन्ना -बेडकभर) चोरेर म इटहरी हुँदै कोसी सुपर चढेर काठमाडौं पुगेँ । दुर्भाग्य राजपरिवारको वंश विनाश भएकै दिन पुगेछु । कलंकीमा कफ्र्यु लागिरहेको थियो । कफ्र्यु भनेको पहिलोचोटि थाहा भयो । काठमाडौं गएर केके गरौँला भन्ने सपना थियो । तर, सबै सपना भताभुंग भएजस्तो लाग्यो । पहिलो दिन कोटेश्वरको पिढीँमा मेरो रात बित्यो । दोस्रो दिन हिँडेर बिजुलीबजारसम्म पुगेँ । मभन्दा सिनियर ब्याचको एउटा साथीसँग भेट भयो । उसैले अनामनगरमा कोठा खोजिदियो । भाडा १३ सय रुपैयाँ थियो । कोठा थियो दिउँसै बत्ती बाल्नुपर्ने । आठ सय रुपैयाँ एडभान्स दिएँ । बाँकी पैसाले स्टोभ र अरू सामान किनेँ । सुताइ भुइँमा थियो । एक दुई दिनमा पैसा सकियो । अब कसरी खाने भन्ने चिन्ताले सताइरह्यो । त्यही वेला मलाई कलंकीमा भाँडा बोक्ने काम मिल्यो । पाँच/सात महिना त्यहीँ काम गरेँ ।
एसएलसी फस्ट डिभिजनमा पास गरेको मान्छे । कहाँ पढ्ने भन्ने अन्योल थियो । बाँच्नकै लागि कुदिरहेको थिएँ । अहिले के खाऊँ भरे के खाऊँ भएका वेलामा कलाकार भेट्न जाने कुरा पनि भएन । सन्तोष पन्तको हिजोआजका कुरामा पनि गएँ । ६ महिना धाएपछि बल्ल एउटा ‘डाइलग’ बोल्न पाइयो । काम गरेर कमाएको आठ सय रुपैयाँमध्ये सात सय रुपैयाँमा आरआर क्याम्पसमा आइएमा एडमिसन गरेँ । अंग्रेजी र पत्रकारिता मेजर विषय राखेँ । १७ दिन कलेज गइएछ । ती सबै दिन जोक भनेर बिताएँ । केटीहरू पनि मेरो जोक सुन्न झुम्मिन्थे । जोक सुनाउनुको एउटा फाइदा थियो । खाजा खान उनीहरूले नै लैजान्थे । खाजा खाएपछि म जुत्ताको लेस मिलाउन लाग्थेँ । अरूले बिल तिरेँ भनेपछि म तिरिहाल्थेँ नि भन्थेँ । पैसा भए पो तिर्नु । तर, पनि औपचारिकता पूरा गर्ने मेरा बानी थियो । एउटा साथीको घरमा रोटेसनमा २५ दिनसम्म भात खाएको छु । साथीहरू खाना खान बोलाउँथे । एकपटक दिएपछि मैले कहिल्यै भात थपिनँ । धेरै खाँदा अर्काेपल्ट नबोलाउलान् कि भन्ने डर थियो । भोकै हुँदा बिजुलीबजारको पुलमुनि गएर धेरैपटक रोएको छु । पाँच रुपैयाँको पाइनापल बिस्कुटले छाक टारेको म कहिल्यै बिर्सन सक्दिनँ । चाबहिलको फोहोरमा एकजना मान्छेले एक दिन दामी भात फ्याँकिदियो । त्यो देखेर म लोभिएँ । गएर खाइदिऊँ जस्तो लाग्यो । आत्माले पनि खा भनिरहेको थियो । विकल्प नभएपछि मान्छेले जे पनि गर्दाे रहेछ । भात खाने सोचले अगाडि बढेँ । तर, विष हालेको भए आफू चिलिम भइन्छ भन्ने सोचेर अन्तै लागेँ । अनामनगरमा टिक्न नसकेपछि म कलाकार खेम शर्मा बसेको घरमा सरेँ । उहाँसँग ‘हिजोआजका कुरा’ मा भेट भएको थियो । अरू कलाकारसँग उहाँले नै परिचय गराउनुभयो । म बसेको घरमा झापाका एकजना दाइ पनि बस्नुहुँदो रहेछ । चार तलामाथिको उहाँको कोठामा बिहान चार बजे पाँच बाल्टी पानी बोकेर लगिदिने गर्न थालेँ । त्यसबापत मैले दैनिक एक कल फोन गर्न पाउँथेँ । चिनजान भएपछि जितु नेपाल दाइलाई फोन गर्न थालँे । सम्पर्क बढ्दै गयो । राष्ट्रिय नाचघरमा अभिनय खुलेको रहेछ । निणर्ायकमा मदनदास श्रेष्ठ, अशेष मल्ल र भुवन चन्द दिदी हुनुहुँदो रहेछ । मेरो अभिनय देखेर मदनदास दाइले रेडियो नेपालमा जागिर लगाइदिने आश्वासन दिनुभयो । उहाँले मागेपछि मैले दुईवटा फोटो पनि दिएँ । म फोटो दिने भाइ भनेर फोन गर्नू भन्नुभयो । मेरो खुसीको सीमा रहेन । भोलिपल्ट हेर्दा नाचघरमा मेरो नाम थिएन । पछि उहाँलाई फोन गर्दा पनि कुनै राम्रो रेस्पोन्स दिनुभएन । काठमाडौंमा कुनै विकल्प नभएपछि म निराश भएर झापा र्फकें । हलो जोतेरै भए पनि जीवन चल्छ भन्ने सोचेर फर्किएको थिएँ । घर आएर बसेको केही दिनपछि हिजोआजका कुरा हेरेँ । त्यसमा म भन्दा लद्दु कलाकारले अभिनय गरिरहेको देखेपछि मेरो मन थामिएन र फेरि काठमाडौं जाने विचार गरँे