दैलेख नारायण नगरपालिका ६ नमुना बस्तीका कमारो सार्कीको छाप्रो केही दिनदेखि सुनसान छ । श्रीमती चावलीको शरीरमा अगुल्टो झोसिदिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लियो । चावली जिल्ला अस्पतालको बेडमा थलिएकी छन् । यता, उनीहरूका तीन नाबालक सन्तान सहाराविहीन छन् । घटनायता उनीहरू भोकभोकै छन् । बजारमा ५-१० रुपैयाँ मागेर भोक मेटाउने गरेका अबोध बालबालिका साँझ अँध्यारो अनुहार लिएर छाप्रोमा पुग्छन् । रित्तो छाप्रोमा बाबुआमा भेटिनु त परै जाओस् चुल्होमा आगोसम्म बल्दैन ।
१० वषर्ीय जेठो छोरा कालु, ८ वषर्ीया छोरी पुष्पा र ५ वषर्ीय कान्छो छोरा टुनटुनलाई खाना दिनेसमेत बस्तीमा कोही छैन । बिहानैदेखि लालाबालासहित बस्तीका सबै सदस्य मजदुरीमा व्यस्त हुने हुँदा बिचल्लीमा परेका बालबालिकालाई सहारा दिने कोही छैन । नमुना बस्तीका सर्वजित वादीले अस्थायी प्रयोगका लागि दिएको जग्गामा सार्की परिवारको टहरो छ । कमारोले दिनभर मजदुरी गरेर कमाएको पैसाबाट परिवार पाल्दै आएका थिए । 'तीन बच्चा छन्, हाम्रै खाना पकाउने र खाने समय नै निश्चित छैन,' छिमेकी सर्वजितले भने, 'उनीहरू कता जान्छन्, केके खान्छन्, थाहै हुँदैन ।' नमुना बस्ती वादी समुदाय सुकुम्बासी बस्ती हो । अति विपन्न भएकाले सार्की परिवारका बालबालिकाले अहिलेसम्म स्कुलको ढोका देख्न पाएका छैनन् ।
आमा अस्पताल, बाबु हिरासतमा, छोराछोरी अलपत्र