हवल्दारले रुदैँ भने - मलाई फसाए हजुर

२८ पुस, काठमाडौ । अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिकन डलरलगायत विदेशी मुद्रा तस्करीमा संलग्न भएको आरोपमा पक्राउ परेका प्रहरी हवल्दार सोभितबहादुर कार्कीले आफूलाई अन्य व्यक्तिले फसाएको बताएका छन् । घटनाको तीन महिनापछि पक्राउ परेका उनले सोधपुछका क्रममा केन्द्रीय अनुसन्धान ब्युरो -सिआइबी)का अधिकारीसँग रुँदै भने, 'मलाई अन्य व्यक्तिले फसाए हजुर !'

स्रोतका अनुसार कार्कीले एसएसपी रविराज श्रेष्ठ तथा तस्करीमा संलग्न अन्य व्यापारीको नाम लिएका छैनन् । तर, उनीहरूको बारेमा सम्बन्धित ठाउँमा गएर बोल्ने बताएका छन् । हवल्दार कार्की एसएसपी श्रेष्ठका चालकका रूपमा कार्यरत थिए । त्यही समयमा विमानस्थलको विदेशी मुद्रा तस्करी प्रकरण खुलेपछि उनी फरार भएका थिए । प्रारम्भिक अनुसन्धानपछि एसएसपी श्रेष्ठका साथै हवल्दार कार्की तथा अर्का असइ हीराकाजी कुमालसमेत निलम्बनमा परेका छन् । हवल्दार कार्कीलाई त राजस्व अनुसन्धान विभागले मुद्दासमेत दायर गरिसकेको छ । सोही मुद्दामा भारतीय नागरिक विनोदकुमार सोनीलाई ललितपुर जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरिसकेको छ । घटनापछि फरार रहेका कार्कीलाई सिआइबीले मोरङस्थित आफन्तको घरबाट पक्राउ गरेको हो । पक्राउ परेपछि कार्कीले आफूलाई माथिल्ला व्यक्तिहरूले फसाएको दाबी गरेका हुन् । एसएसपी श्रेष्ठले छानबिन समितिसँगको बयानमा घटनाबारे आफूलाई जानकारी नभएको बताउँदै हवल्दार कार्कीले नै तस्करी गरेको हुनसक्ने बताएका थिए । त्यस्तै, पक्राउ परेका भारतीय नागरिक सोनीले पनि हवल्दार कार्कीको विदेशी मुद्रा आफूले विदेश पुर्‍याइदिन लागेको बयान दिएका थिए । सोही आधारमा कार्कीलाई समेत राजस्व अनुसन्धानले मुद्दा दायर गरेको थियो । कुनै चलखेल नभए हवल्दार कार्कीले घटनाको वास्तविकता बताउने अनुमान गरिएको छ । प्रहरीको आन्तरिक छानबिनमा तस्करीमा त्यसवेला विमानस्थलमा कार्यरत एसएसपी श्रेष्ठको प्रत्यक्ष संलग्नता औँल्याइएको थियो । सोही आधारमा उनलाई गृह मन्त्रालयले १५ कात्तिकमा निलम्बन गरेको थियो । त्यस्तै अनुसन्धानमा सो अवैध विदेशी मुद्रा दरबारमार्गस्थित इबिसु ज्वेलर्सका मालिकहरू मुरारी जमेलिया -गोयल), पवन अग्रवाल, विमल पोदारलगायतको भएको खुलेको छ । तर, प्रमाण अभावका आधारमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको छैन । हवल्दार कार्कीले वास्तविक बयान दिएमा उनीहरूविरुद्ध पनि मुद्दा चल्नेछ । हालसम्मको अनुसन्धानमा हवल्दार कार्की नै मुख्य कारोबारी भएको बनाइएको छ । जब कि उनको आर्थिक अवस्थासमेत एकदमै निम्नस्तरको छ । विमानस्थलमा हवल्दारको मात्र मिलेमतोमा तस्करी असम्भव रहेको प्रहरी अधिकारीहरू बताउँछन् ।