अमेरिका गएका ‘फिस्टे’ फर्किदा ‘बिस्टे’ भए

काठमाडौ, साउन २५ – हाँस्य कलाकारका लागि ठूलो चाड हो गाईजात्रा । यो बेलामा बिभिन्न विषयमा छेडछाड र ब्यंग्यवाण हानेर दर्शकको ताली र राम्रो कमाइ पनि पाउँछन्, कलाकारहरुले । यसवर्षको गाईजात्रा आउन दुई हप्ता बाँकी छँदै कलाकारहरु यसको तयारीमा लागिसकेका छन् ।

डेढ वर्षअघि अमेरिका भास्सिएका हाँस्यकलाकार गोपाल नेपाल ‘फिस्टे’ पनि गाईजात्राका लागि नेपाल आएका छन् । अमेरिका बसाइसँगै गोरो र मोटो देखिएका उनले हस्यौंली पारामा भने–‘रुप रंग र मोटाइ हेरेर मलाई अब फिस्टे होइन बिस्टे भन्नुस् ।’

गाईजात्रा मान्नकै लागि भनेर अमेरिकादेखि नेपाल आएको बताउने फिस्टेका अनुसार यसपालीको गाईजात्रामा उनको विशेष प्रस्तुति रहनेछ । अमेरिकामा रहँदा अघिल्लो सालको गाईजात्रालाई खुब ‘मिस’ गरेको उनले सुनाए ।

अमेरिका भास्सिएका अरु कलाकारहरु झै उनले पनि भन्न भ्याइहाले ‘अमेरिकामा रहेर पनि मैले कलाकारितालाई अगाडि बढाईरहेको छु, त्यहाँ हुने कार्यक्रममा सहभागिता जनाउँछु ।’ पैसा कमाउन अमेरिका गएको भएपनि आफ्नो लागि पैसा नै सबैभन्दा ठुलो कुरो नरहेको उनले दावी गरे ।

अमेरिकालाई आफ्नो भोगाईको आधारमा उनले यस्तो परिभाषा दिए ‘आ मरि खा अर्थात आउने मरिमरि काम गर्ने र गरि खाने ।’ रमाइलो गरिरहने उनलाई अमेरिका कामको थुप्रो मात्रै हो भन्ने लाग्छ । ‘रमाइलो त नेपाल नै छ’ उनी भन्छन् ।



चार महिनाको नेपाल बसाइमा गाईजात्रासँगै अरु दुईचारवटा कार्यक्रम पनि भ्याउने फिस्टेको योजना छ । नेपाल फर्किएको एकहप्तामै उनी तितो सत्य, जिरे खुर्सानी लगायतका टेलिश्रृंखलामा ब्यस्त बन्न थालेका छन् । सबैको प्रशंसनीय अभिनय कला भएका फिष्टे राम्रो नृत्यकलाकार पनि हुन् । विगतमा उनले गाइजात्रे एल्बममा प्यारोडी गीत पनि गाएका छन् ।

३३ वर्षे फिष्टेलाई चलचित्र बनाउने पनि खुब रहर छ । नेपाली चलचित्रमा छाडापन बढ्दै गइरहेको बेलामा केही साथीहरुसँग मिलेर मौलिक चलचित्र बनाउने योजना पनि उनले सुनाए । हाँस्य कलाकार जितु नेपालका भतिज भएकाले सबैले उनलाई ‘भतिज कलाकार’ भन्छन् । उनी कुनै बेला अहिलेका चर्चित हाँस्यकालकार दीपकराज गिरीका जोडी समेत थिए । तर रमाइलो कुरो के छ भने, दीपकले फिस्टेलाई भतिज र फिस्टेले दीपकलाई अंकल नै भनेर बोलाउँछन् ।

अंकल भतिजको यो जोडीले कमाल देखाउन भने सकेन । आफूलाई फिस्टेबाट बिस्टे भएको बताउने गोपाल एक्लैले यो गाईजात्रामा कस्तो कमाल देखाउलान्, त्यो त हेर्न बाँकी नै छ । -

भिडियो हेर्नको तलको बक्स मा डबल क्लिक गर्नु होस्