१ जेठ, इलाम । सशस्त्र द्वन्द्वकालमा तत्कालीन विद्रोही पक्षले कब्जा गरेको जग्गा फिर्ता भइसकेको प्रशासनले जनाएको छ ।
तत्कालीन अवस्थामा नेपाली काँग्रेसका नेता कुलबहादुर गुरुङका परिवारको जग्गा फिर्ता भएपछि सम्बन्धित परिवारले भोगचलन गर्न थालेका छन् ।
द्वन्द्वको क्रममा कब्जा गरिएका निजी तथा सरकारी घर जग्गा फिर्तासम्बन्धी जिल्लास्तरीय उच्च कार्यदलले जग्गा फिर्ताको प्रक्रिया पूरा गरेपछि विस्थापित परिवार जग्गा भोगचलनमा लागेका हुन् ।
विद्रोहीले दानाबारी-५ मा रहेको जग्गा कब्जा गरिएको नौ वर्षपछि मात्र भोग चलन थालेका हुन् । विसं २०६१ मा विद्रोही माओवादीले भू-माफिया भन्दै गुरुङका परिवारको जग्गा कब्जामा लिएका थिए ।
स्थानीय शान्ति समितिको कार्यालय इलामका अनुसार यशोदा गुरुङ, शशि देवान, बालकुमारी गुरुङ, रत्नकुमार गुरुङ र नेवज गुरुङको नाममा रहेको जमिन कब्जामा थियो ।
दुईसय ५० रोपनी चिया बगानसहित ४२८ रोपनी कब्जा जग्गा फिर्ता भइसकेको कार्यदलका संयोजक तथा प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले बताउनुभयो । ‘लामो समयसम्म भोगचलन नहुँदा घर नै लड्ने अवस्थामा पुगिसकेको छ, नौ वर्षपछि घर र्फकेकी यशोदाले गुरुङले भन्नुभयो ।
जग्गा फिर्ता भएपछि कब्जा जमिनमा बसेका ४० परिवार हटिसकेको कार्यालयले जनाएको छ । सरकारले प्रक्रिया मिलाएर जग्गा फिर्ता गरेकाले ढुक्क भएर उपभोगमा लागेको पुनःस्थापितहरूको भनाइ छ ।
जग्गा कब्जापछि लामो समयसम्म सम्बन्धित परिवार अन्यत्रै बस्दै आएका थिए । जिल्लाभर अहिले कुनै पनि जग्गा कब्जामा नरहेको प्रशासनको दाबी छ ।
पूर्वी इरौँटारस्थित टेकनाथ पकुवालको जग्गा कब्जा नभई घरायसी जग्गासम्बन्धी विवाद रहेको बुझिएको छ । माबुका पदम गुरुङको कोही पनि सम्पर्कमा नआएको जिल्ला प्रशासनले जनाएको छ ।
पश्चिमी एकतप्पाका गङ्गाप्रसाद पौडेल, रमेशप्रसाद पौडेल, महेन्द्रप्रसाद पौडेल र खगेन्द्रप्रसाद पौडेलको पनि जग्गा फिर्ता भइसकेको छ । त्यस्तै पूर्वी फिक्कलस्थित हिमालय रेञ्ज चिया उद्योगको पनि फिर्ता प्रक्रिया सकिएको प्रजिअ खतिवडाले जानकारी दिनुभयो । रासस
माओवादीले कब्जा गरेको केबी गुरुङको जग्गा फिर्ता


विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं