अवैध कारोबारमा भन्सार र राजस्वको मिलेमतो, प्रज्ञापनपत्रमा खाली ठाउँ राखेर खुलेआम तस्करी

वीरगन्ज, जेष्ठ १६ - छड्के एवं आकस्मिक चेक जाँचमा परे विवरण भर्न मिल्ने गरी प्रज्ञापनपत्रमा खाली ठाउँ राखेर भन्सारको छापसहित कर्मचारीले नै खुलेआम तस्करी गर्ने गरेको पाइएको छ । नारायणी अञ्चल प्रहरीको टोलीले बाराको अमलेखगन्जमा तीन दिनअघि बरामद गरेको ७२ गाँठ कपडाको पज्ञापनपत्रले यस्तो रहस्य उजागर गरेको हो ।



उक्त सामानको प्रज्ञापनपत्रमा ४७ उल्लेख भए पनि बाँकी ठाउँमा भर्न मिल्ने गरी भन्सारका कर्मचारीले छाप लगाएर जाँचपास गरिदिएका थिए । केही दिनअघि वीरगन्जमा जाँचपास भएरै भन्सारको यार्डबाट बाहिरिएको एक ट्रकसहितको सामानलाई अञ्चल प्रहरीकै टोलीले बरामद गरेको थियो । यो प्रकरण सार्वजनिक भएपछि वीरगन्ज भन्सारमा केही कडाइ भएको छ । यसपछि 'भन्सार तथा राजस्वका तस्कर कर्मचारी' को समूहले गौर भन्सारबाट आफ्नो अवैध कारोबारलाई निरन्तरता दिन थालेका छन् । हालै बराबद सामान गौरबाट काठमाडौं जाने माँ तारा, माँ राजदेवी र शान्तिदूत रात्रिबसको छतमा लोड गरिएको थियो । सामानमा कपडा, पाउडर दूध र शृंगार सामग्री थिए । पूजाको कपडाको नाममा महँगा पोपलिन भित्रिएको पाइएको छ । आयातकर्ताले वस्तु घोषणा नगरेको प्रज्ञापनपत्रमा भन्सार अधिकृतले सहीछाप गरी सामान जाँचपास गरेको फेला परेको छ । सामान कतै बरामद भए प्रज्ञापनपत्रमा सामानको परिमाण उल्लेख गर्न सक्ने गरी खाली प्रज्ञापनपत्र भन्सारले जाँचपास गरिदिएको हो ।

त्यस्तै आयातकर्तासमेत अवैध भएको पुष्टि भएको छ । काठमाडौंका विभिन्न सात वटा र्फमको नाममा काटिएका बिलमध्ये तीन वटा दर्ता नभएको फेला परेको हो । आन्तरिक राजस्व कार्यालय वीरगन्जले राजदेवी ट्रेडर्स, जितु इन्टरप्राइजेज र नवदुर्गा स्टोर दर्ता नभएको जनाएको छ । बाँकी र्फमले लामो समयदेखि कर विवरण बुझाएका छैनन् । भन्सार कर्मचारीकै मिलेमतोमा राजस्व छलेर भित्रिएको सामान प्रहरीले बुझाउन खोज्दा पथलैयास्थित राजस्व अनुसन्धानको मध्यमाञ्चल क्षेत्रीय इकाईले २ दिनसम्म आनाकानी गरेको थियो । 'राजस्व छली नियन्त्रण गर्न खडा गरिएको अड्डाले अवैध सामान बुझ्न आलटाल गर्‍यो,' अञ्चल प्रहरी कार्यालयका एक प्रहरीले भने, 'एसएसपी सा'ब (सर्वेन्द्र खनाल) ले आफैं गएर भनेपछि बल्लबल्ल बुझे ।' स्रोतका अनुसार वीरगन्जको सीमावर्ती रक्सौलस्थित भारतीय भन्सारले नेपालतर्फ हुने तस्करीमा कडाइ गरेपछि आयातकर्ताले वीरगन्ज भन्सारकै मिलेमतोमा धन्दा सुरु गरेका थिए । तर अञ्चल प्रहरी कार्यालयले वैशाख १० गते राजस्व नतिरी भन्सारबाटै आएको कपडाको ट्रक नियन्त्रणमा लिएपछि गौर नाकातिर हान्निएका हुन् । गौरबाट हुने धन्दामा भन्सारका साथै रौतहट प्रहरी, राजस्व अनुसन्धानको पथलैया इकाईको समेत मिलेमतो रहने गरेको खुलेको छ । 'अञ्चल प्रहरी सक्रिय भएपछि लाइन (मिलेमतोमा हुने तस्करी) भाँडिएको छ,' स्रोतले भन्यो । यता तस्करीको सामान बरामद भएपछि भन्सार एजेन्ट समूहले भन्सार ठप्प पारेको छ ।

प्रहरीले केही दिनअघि वीरगन्ज भन्सारबाट राजस्व छलेर भित्र्याइएको १ सय १ गाँठ कपडा भन्सार बुझाएपछि एक कुनै कागजपत्र पेस गर्न नसकेका तस्करले पुनरावेदन अदालत हेटौंडा रिट हालेर बरामद सामानको लिलाममा रोक लगाएका छन् । तस्करले प्रहरीले प्रज्ञापनपत्र खोसेर तस्करीको भन्दै भन्सार बुझाएको जिकिर गरी रिट दर्ता गरेका थिए । प्रहरीसम्बद्ध स्रोतका अनुसार उक्त सामान वैधता दिन सघाए १५ लाख रुपैयाँ घूस दिने प्रलोभन तस्करले दिएका थिए । 'प्रहरीले नसुनेपछि अदालत गुहारेका छन्,' स्रोतले भन्यो ।

रातारात प्रज्ञापनपत्र परिवर्तन

भन्सार छलेर भित्र्याइएको कपडाको प्रज्ञापनपत्र अञ्चल प्रहरीका एक अधिकृतले रातारात परिवर्तन गरेका छन् । प्रहरी निरीक्षक खर्गनारायण साहले तस्करलाई सघाउ पुग्ने गरी कागजपत्र मिलाएको फेला परेको हो । यो घटनाबारे अञ्चल प्रहरीले छानबिन थालेको छ । प्रहरीले सोमबार कागजपत्रको आधारमा बरामद सामान प्रमाणीकरण गर्दा खाली प्रज्ञापनपत्रमा भन्सारले सहीछाप गरी जाँचपास गरेको फेला परेको थियो । लाइन नमिलाएको ठाउँमा चेकजाँच भए मिलाउनका लागि यसरी प्रज्ञापनपत्रमा खाली राखेर जाँचपास गरिएको थियो । अधिकांश प्रज्ञापनपत्रमा आयातकर्ता, बिक्रेता, सामानको घोषणा र संख्यालगायतका विवरण खाली थिए । भन्सार जाँचकीको हस्ताक्षर, तिरेको राजस्व र कलमले लेखिएको सामानको संख्या मात्र उल्लेख थियो । तर भोलिपल्टै ती सबै प्रज्ञापनपत्र भरेको अवस्थामा फेला परेको थियो । 'प्रज्ञापनपत्र परिवर्तनबारे अनुसन्धान थालेका छौं,' एसएसपी सर्वेन्द्र खनालले भने । कार्यालयमै राख्नुपर्ने बरामद सामानको फाइल साहले राति निवासमा लगेको खुलेको छ । सुरुमा फाइल मुद्दा फाँटको दराजमै राखेको प्रहरी निरीक्षकले दाबी गरेका थिए । मुद्दा फाँटका सई चन्देश्वर ठाकुरले अन्य दिन फाइल दराजमै हुने भए पनि राति इन्सपेक्टर साहबले निवासमै लगेको बताएका छन् । 'अरू दिन दराजमै हुने भए पनि सोमबार कार्यालय समयसम्म इन्सपेक्टरले फाइल फिर्ता गरेनन्,' ठाकुरले भने । राति दराजमा फाइल भए/नभएको बारे बुझ्न एसएसपीले सईलाई सोधपुछ गरेका थिए । इन्सपेक्टरले फाइल यहीँ राखिएको भन्न सिकाएको पनि उनले खुलाए ।
ekantipur