एमालेसँग जोरी खोजे एमाओवादी सिद्धिन्छःखनाल
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले एमालेसँग जोरी नखोज्न एकीकृत नेकपा माओबादीलाई आग्रह गरेका छन् ।
नेकपा एमाले जिल्ला कमिटी दैलेखले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले एमालेसँग जोरी खोज्न नछाडे माओवादी मुलुकबाटै बढारिने चेतावनी दिए ।
एकीकृत माआबोदीले नचाहेकै कारण मुलुकले संबिधान नपाएको आरोप लगाउँदै खनालले संविधान निर्माणका लागि एमाले लगायत ‘लोकतान्त्रिक शक्ति’लाई मत दिन आग्रह गरे ।
एमाले निष्पक्ष र स्वच्छ निर्बाचनको पक्षमा भएको दाबी गर्दै उनले बिगतको चुनाबमा जस्तो धाँधली र बितण्डा मच्चाउन खोजे एमाले हातमा दही जमाएर नबस्ने बताए । माओवादीप्रति आक्रामक रुपमा प्रस्तुत भएका अध्यक्ष खनालले डेकेन्द्रराज थापा जस्ता पत्रकार र धेरै निहत्था जनताको हत्या गरेको भन्दै माओवादीलाई कुनै पनि हालतमा भोट दिन नहुने बताएका थिए ।
यसअघि प्रेस चौतारी दैलेखले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष खनालले लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुख बनाउन पार्टीले सिफारिस नगरेको दावी गरे ।