विद्यालयको पर्खाल भत्कँदा च्यापिएर आमा छोराको मृत्यु

क्रान्ति शाह

३० वैशाख, बारा । बारामा विद्यालयको पर्खाल भत्कँदा च्यापिएर दुई जनाको मृत्यु भएको छ । आइतबार बेलुका आएको हावाहुरीले बाराको पथरा गाविसमा बिद्यालयको पर्खाल भत्किदा च्यापिएर खोपवा गाविस वडा नम्वर ५ की ४५ बर्षकी एतवरीया देवी राम र उनका १० वर्षका छोरा सन्जय रामको मृत्यु भएको हो । एक जना बालक गम्भीर घाईते पनि भएका छन् ।

पथरा गाविस वडा नम्वर १ मा रहेको नेपाल राष्ट्रिय प्राथमिक बिद्यालयको जिर्ण पर्खाल हावाहुरीले भत्किदाँ च्यापिएर आमा एतवरीयाको घटनास्थलमै र छोरा सन्जयको उपचारका लागि वीरगन्ज ल्याउदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी सहायक निरिक्षक विवेक निरौलाले बताउनुभयो ।

पर्खालले च्यापिएर एतवरीया देवीका अर्का छोरा १२ वर्षका फेकु राम घाईते भएका छन । उनको वीरगञ्जको नेशनल मेडिकल कलेजमा उपचार भईरहेको छ । घाइते फेकुको अवस्था अहिले सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । खोपवाबाट पथरा गाविसमा बिवाहको कोशेली लिएर जाँदै गर्दा आइतबार बेलुकी हावाहुरीसंगै पानी पर्न थालेपछि उनिहरु विद्यालयमा ओत लिएर बसेका बेला पर्खाल भत्किएको थियो