बुहारीलाई अंश नदिन विवाह भईसकेकी छोरीलाई बकसपत्र

पर्वत, जेठ ४ – आफ्नै बुहारीलाई अंश दिनुपर्ने अबस्था आउन थालेपछि पर्वतको देविस्थानका बृद्धले आफ्नो नामको जमिन बिबाह भइसकेकी छोरीलाई पास गरिदिएको रहस्य खुलेको छ । देविस्थान– ८ फलेवासका पुण्यप्रसाद भूषालले बुहारी इन्दिरा भुषाललाई अंश नदिनका लागि विवाह गरेकी छोरीलाई सबै अंश बकस पास गरिदिनुभएको हो ।

भुसालले आफू र आफ्नी श्रीमती मायाकुमारी भूषालका नाममा रहेको ११ रोपनी ३ आना २ पैसा ३ दाम क्षेत्रफलको जग्गा पाङराङ ७ घरभएकी छोरी कृष्णकुमारी भूषालका नाममा जेठ २ गते बकसपत्र गरिदिनुभएको छ ।

बुहारी इन्दिराले अंशसहित सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गरेको थाहा पाएपछि ससुरा पुण्यप्रसादले मालपोतमा पुगेर छोरीलाई अंश दिएको देखिएको पर्वत जिल्ला अदालत कानुनी सहायता समितिले जानकारी दिएको छ ।

पुण्यप्रसादले जालझेल गरेर आफ्ना छोरा सुरजसँग आफ्नो विवाह गराएको भन्दै इन्दिराले अहिले अंश खोज्दा समेत पीडित बनेको गुनासो गर्नुभयो । ‘श्रीमान संग कहिल्यै पनि सम्बन्ध भएन,’ इन्दिराले भन्नुभयो ‘अब आफ्नो ढंगमा जीवन जीउँछु भन्दा समेत मैले बाटो पाउन सकिन ।’

सम्बन्ध विच्छेदका लागि मुद्दा दायर गर्न खोज्दा दुवै पक्ष मिलापत्र गर्ने भन्दै मुद्दा दर्ता गर्न समेत पर्खाउने काम गरेर झुक्काएका थिए । इन्दिराले जेठ २ गते पर्वत जिल्ला अदालतमा अंश मुद्दा दर्ता गर्नुभएको छ । उहाँले मुद्दा गर्दा गरेको थाहा पाएपछि पुण्यप्रसादले छोरीका नाममा बकसपत्र पास गरिदिनुभएको हो ।

२०६३ साल बैशाखमा इन्दिरा र देविस्थान ८ का सुरज भुषालबीच मागी बिबाह भएको थियो । विवाहपछि श्रीमानले जीवनमा कहिल्यै सुःख नदिएको गुनासो पनि उहाँको छ । पर्वत जिल्ला अदालत बार इकाईले इन्दिराको न्यायका लागि पहल गरिरहेको छ । जग्गा बकसपत्र गरेपनि त्यसलाई बदर गरेर कानुनी प्रक्रिया अघि बढाउन सकिने बार अध्यक्ष भोलानाथ शर्माले जानकारी दिनुभयो ।