प्रेमिकाले आत्महत्या गरेपछि सोधपुछ गर्न बोलाइएका प्रेमि प्रहरी कार्यालयको छतबाट हामफाल्दा घाइते

काठमाडौं, जेष्ठ १६ - किशोरीले आत्महत्या गरेको विषयमा सोधपुछ गर्न प्रहरी कार्यालय बोलाइएका एक व्यक्ति चार तलामाथिबाट हामफाल्दा घाइते भएका छन् । महानगरीय प्रहरी अपराध महाशाखा चौथो तलाबाट हामफालेका २० वर्षीय सञ्जय शाहीको दाहिने खुट्टामा चोट लागेको छ ।



काठमाडौं भीमसेनस्थान बस्ने रामेछापकी १७ वर्षीया सरिता तामाङ कोठामा सलको पासो लगाएर झुन्डिएको अवस्थामा बुधबार बिहान फेला परेकी थिइन् । उनको कोठामा खोजतलास गर्दा सरिताको डायरीमा सञ्जयको नाम देखेपछि प्रहरीले हनुमानढोका बोलाएको थियो ।

चौथो तलामा रहेको ज्यानसम्बन्धी पिलर हेर्ने कोठामा राखेर बयान सकिएपछि अभिभावकको जिम्मा लगाएर पठाउन लाग्दा उनी छतबाट अकस्मात् हामफालेको अपराध महाशाखा प्रमुख एसएसपी विजयलाल कायस्थले बताए । कायस्थका अनुसार कोठामा बयान सकेर निस्किएपछि उनले छतमा रहेको क्यान्टिनमा पानी पिएका थिए । त्यसपछि अकस्मात् हामफालेको प्रहरीले जनाएको छ । शाही पार्किङमा राखेको बा५च ६५३९ नम्बरको गाडी माथि परेकाले खुट्टा मात्र भाँचिएको प्रहरीले जनाएको छ । कायस्थका अनुसार पक्राउ गरेर ल्याएको व्यक्तिलाई सोधपुछ गर्दा उनीहरूलाई हेर्ने २ प्रहरी साथै हुन्छन् । शाहीलाई भने सामान्य कागज गर्नमात्र बोलाएको हुनाले उनी एक्लै थिए । शाहीको मृतक तामाङसँगको सम्बन्धबारे सोधिएको थियो । शाहीले ६ महिनादेखि प्रेम सम्बन्ध भएको बताएका थिए ।

शाही र तामाङबीच यसअघि झगडा नभए पनि शाहीको गाँजा खाने बानीलाई लिएर तामाङ दिक्क हुने गर्थिन् । शाहीले गाँजा खाएको सुरमा हातको नाडी काटेर घाउ बनाएका छन् । वीर अस्पतालमा उपचार भइरहेका उनले प्रेमिकाले आत्महत्या गरेपछि आफू पनि मर्न खोजेको बताए । अपराध महाशाखा छतबाट हामफालेको यो पहिलो घटना भने होइन ।

९ वर्षअघि चौधरी गु्रपमा ५० लाखभन्दा बढी ठगी गरेको आरोपमा समातिएका एक व्यक्ति पनि सोधपुछ क्रममै हामफाल्दा ज्यान गएको थियो । त्यसपछि महाशाखा भित्री भागमा फलामे जाली राखिएको थियो । डेढ महिनाअघि एउटा मुद्दामा समातेर ल्याएका व्यक्तिसमेत त्यसरी नै हामफाल्न खोज्दा महिला प्रहरीले तानेर बचाएकी थिइन् । पुरा भिडियो हेर्न को लागि तल को बक्समा डबल क्लिक गर्नुहोस