फेसबुक र एसएमएसको कारण पति–पत्नीको सम्बन्धविच्छेद बढ्दो

७ जेठ, काठमडौ । नेपालमा महिलाले पतिसँग सम्बन्धविच्छेद गर्न चाहेमा सिधै अदालत जान सक्ने व्यवस्था भएपनि पुरुषले चाहेमा भने एक वर्षको समय पर्खनैपर्ने प्रावधान छ । यसका लागि पुरुषले पहिले स्थानीय निकाय गाविस वा नगरपालिकामा निवेदन दिनुपर्ने व्यवस्था छ ।



काठमाडौँ महानगरपालिका भित्रका स्थायी बसोबास गर्ने तथा काठमाडौँका सरकारी कार्यालयमा कार्यरत पुरुषले सम्बन्धविच्छेदका लागि महानगरपालिकामा निवेदन दिनुपर्ने व्यवस्थाअनुरुप विगतका वर्षको तुलनामा यस्ता निवेदनको सङ्ख्या बढ्न थालेको छ ।

केही समयअघि मात्र एक पुरुष महानगरपालिकामा सम्बन्धविच्छेदका लागि निवेदन दिन आए । सम्बन्धविच्छेदको कारण थियो, श्रीमतीको परपुरुषसँगको सम्बन्ध । श्रीमतीको मोबाइलमा अर्कै पुरुषको सन्देश र लामो समय ‘कल डिटेल’ देखेपछि सम्बन्धविच्छेद गर्न चाहेका थिए । जसको कारण उनले १७ वर्षीय आफ्नो छोराको डिएनएसमेत जाँच गराउन माग गरे ।

यस्ता घटना दिनप्रतिदिन बढिरहेको महानगरपालिकास्थित कानुनी महाशाखाका वरिष्ठ कानुन अधिकृत वसन्त आचार्यले बताउनुभयो । “विशेष गरी प्रेमविवाह गरेका जोडीमा सम्बन्धविच्छेदका घटना बढिरहेको छ” उनले भने-“विवाहपछि महिलाको अपेक्षा ठूलो हुन सक्छ । परिवारको सहमति बेगर गरिएको विवाह अन्त्यमा सम्बन्धविच्छेदमा टुङ्गिएको देखिन्छ ।”

यहाँ आउने निवेदनमा श्रीमती परिवारमा मिलेर बस्न नसकेका कारण दिनहुँजसो झैं झगडा हुने, परिवारले जबर्जस्ती गराईदिएको विवाह, जहाँ केटा र केटीको शैक्षिक योग्यतामा ठूलै भिन्नता, उनीहरुको वैचारिकस्तरमा फरकपनलगायतका कारण हुने गरेको उनले बताए ।

अधिकृत आचार्य भन्नहुन्छ, “विवाहपछि केटाले चाहन्छ कि केटीले बाहिर काम गर्न नजाओस्, पाइन्ट नलगाओस्, आफूसँग बाहिर कतै हिँड्दापनि लवाईखवाईको स्तर मिलोस्, जब त्यो चाहना पूरा हुँदैन तब सम्बन्धबिच्छेदको प्रक्रियामा लाग्ने गर्छ ।”

उनले दिएको जानकारी अनुसार महानगरपालिकामा आउने मध्ये करिब ५० प्रतिशत मुद्दा परिवारमा सासु र नन्दसँग सम्बन्ध नमिल्नुका कारणसहितको आउँछ । केटाले परिवार र केटीबीच सम्बन्ध सन्तुलन बनाउन नसक्दा वैवाहिक सम्बन्ध टुङ्गिने अवस्थामा पुग्छ ।

यसरी आएका निवेदनको अध्ययनपछि करिब एक वर्षसम्म मेलमिलाप गराउने कोसिस गरिन्छ, उहाँले भन्नुभयो, “सकेसम्म सम्बन्ध नतोडियोस् भनेर मिलाउने प्रयास गर्छौ ।” तर एक वर्षसम्म पनि श्रीमान् श्रीमतीको सम्बन्ध राम्रो हुन सकेन र सम्बन्धबिच्छेद गर्न चाहेमा मेलमिलाप हुन नसक्ने व्यहोरा लेखेर अदालतमा पेश गर्ने गरिएको उनले बताए ।

त्यसपछि अदालतले सम्बन्धविच्छेदको प्रक्रिया अगाडि बढाउने गर्दछ । सम्बन्धविच्छेदका लागि महिला सिधै अदालतमा जान पाउने भएकाले पनि स्थानीय निकायमा आउने पुरुषको सङ्ख्या कम देखिएको छ ।

तर प्रत्येक वर्ष महानगरपालिकामा आउने सङ्ख्या बढिरहेको उहाँले बताउनुभयो । हाल वर्षको करिब एक सयको सङ्ख्यामा यस्ता निवेदन आउने गेरेको छ ।

श्रीमान् श्रीमतीबीच आपसी विश्वासको कमी हुँदा मोबाइलमा एसएमएस, सामाजिक सञ्जाल फेसबुकलगायतमा आउने आपत्तिजनक सन्देशका कारण पनि सम्बन्धविच्छेदका घटना बढिरहेको पाइएको छ । अन्जली रम्तेल/रासस