पोखरा इन्जिनियरिङ क्याम्पसमा झडप, केही घाइते

पोखरा, जेष्ठ १६ - उम्मेदवारी दर्ताको बिषयलाई लिएर लामाचौरस्थित ईन्जिन्यिरिङ संस्थानको पश्चिमाञ्चल क्याम्पस तनाबग्रस्त बनेको छ ।

नेविसंघ र अनेरास्ववियुले उम्मेदवारी दर्ता गर्न जानु अघिनै एमाओवादी निकट अखिल क्रान्तिकारीले निर्वाचन कार्यालयमा तालाबन्दी गरेपछि दुवैपक्षबीच झडप भएको हो । झडपका क्रममा केही बिद्यार्थी घाइते भएका छन् ।




क्याम्पसको प्रशासन कक्षमा तोडफोड भएको छ । क्रान्तिकारीले ताला खोल्न नमानेको र नेविसंघ अनेरास्ववियुले उम्मेदवारी दर्ता नगरी नर्फकने अडानले क्याम्पसमा तनाव र झडप सुरु भएको हो । झडपमा कम्तीमा ६ बिद्यार्थी र ४ प्रहरी घाइते भएका छन् ।

क्रान्तिकारी श्रोतले केन्द्रिय नीति अनुसार निर्वाचन कार्यालयमा ताला लर्गाएको बताए । एउटा पक्षले ताला लगाएको र अर्कोले खोल्न आएपछि बिबाद भएको निर्वाचन अधिकृत माधवप्रसाद शर्माले बताए । दुई पक्षबीच झडपको अवस्था आएपछि केन्द्रमा सोधिएको र यस्तो अवस्थामा निर्वाचनका प्रकृया रोक्नु भन्ने भएकाले क्याम्पस प्रशासनले सुचना टाँसेर निर्वाचन प्रकृया स्थगित गरेको छ ।

क्याम्पस प्रमुख नारायण गौतमले प्रशासन कक्षका झ्याल ढोकाका शिशा फुटेको बताए । अहिले ब्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।