यु-१९ एलिट कप क्रिकेटमा नेपालको विजयी सुरुवात ,कुबेत ८४ रनले पराजित

२० बैशाख, काठमाण्डौ । मलेसियामा सुरु अन्डर १९ एसीसी एलिट कप क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित किनारा ओभलमा शुक्रवार आफ्नो भएको पहिलो खेलमा नेपालले कुबेतलाई ८४ रनले पराजित गरेको हो ।



नेपालले दिएको १ सय ९४ रनको लक्ष्यका साथ जवाफी व्याटिङमा उत्रिएको कुबेत ३६ दशमलब २ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९ रनमा समेटियो । कुवेतलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि यज्ञमान कुमालले ३, सुसान्त भारीले २ तथा कप्तान भुवन कार्की, अभिनाश कर्ण र निश्चल पाण्डेले समान एक एक विकेट लिए ।



यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९३ रन जोडेको थियो । नेपालका लागि अमित श्रेष्ठले सर्वाधिक ४६, सुशान्त भारीले २८, पवन श्रेष्ठ र हरिशंकर शाहले समान २३-२३ र इर्शाद अहमदले १८ रन जोडे । यसैगरी निश्चल पाण्डेले १०, प्रेम तामाङले ६, अभिनाश कर्णले ३ तथा निर्मल थापाले १ रन जोडे । कप्तान भवन कार्की भने खाता नै नखोली पेभिलियन फर्केका थिए ।



कुवेतका लागि साहरुख कुडुसले नटआउट सर्बाधिक ३६ रनको योगदान गरेपनि हार टार्न सकेनन । यस्तै कुवेतका लागि फैजानले २१ तथा मोहमद वासिफले ११ रन जोडे । चार पटकको बिजेता नेपालले बैशाख २२ मा कतार, २३ मा बहराईन र २५ गते मलेसियाको सामना गर्ने छ ।