बर्षका चर्चित अनुहारमा, प्रचण्डलाई चड्काउने पद्म देखि प्रकाश दाहाल हुँदै पारस शाह सम्म (फोटो फिचर)

१ बैशाख, काठमाडौ ।

वर्ष २०६९ मा धेरै व्यक्ति विवादमा आए भने केही विभिन्न कारणले चर्चित भए। कोही राजनैतिक कारणले विवादमा मुछिए भने कोही गैरराजनीतिक कारणले पनि चर्चामा रहन सफल भए। यद्यपि विवाद र चर्चामा आउने अधिकांश व्यक्ति कुनै न कुनै रूपमा राजनीतिसँग सम्बन्धित थिए। देशको राजनीति नै विवादित अवस्थामा रहेका कारण पनि चर्चित व्यक्तिहरू राजनीतिसँग बढी जोडिएका थिए। यद्यपि राजनीति इतरका खेलकुद एवं आर्थिक गतिविधिका कारण पनि केही व्यक्तिका विवाद र चर्चाबारे अश्विनी कोइरालाले लेखाजोखा गरे।



डा.रामवरण यादव

पाँच वर्षदेखि विवादरहित अवस्थामा रहेका राष्ट्रपति रामवरण यादव विभिन्न कारणले चर्चामा रहे। संविधानसभा विघटन भएयता चिन्तित रहेका राष्ट्रपतिले प्रमुख राजनीतिक दललाई लगातार भेटेर सम्झाउने, फकाउने र धम्काउनेसम्मका कार्य गरे। फलस्वरूप राष्ट्रपतिले गैरसंवै धानिक कदम चाल्ने वा सक्रिय हुन सक्ने अनुमानका कारण उनको लगातार चर्चा भैरह्यो। पछिल्लो समयमा प्रधानन्यायाधीश खिलराज रे ग्मीलाई सरकार प्रमुख बनाउने कार्यमा पनि उनको महत्वपूर्ण योगदान रह्यो। ४० वर्ष देशको प्रजातन्त्रका लागि लडेर मन्त्री हुँदै राष्ट्रपतिसम्म भएका यादवले पछिल्लो छिमलमा गैरराजनैतिक व्यक्तिलाई कार्यकारी प्रमुख बनाउन गरेको प्रयासका कारण उनी विवादित पनि भए।



डा. बाबुराम भट्टराई

मुस्ताङ म्याक्स चढेेर प्रधानमन्त्री बनेलगत्तै चर्चामा रहेका डा. बाबुराम भट्टराई सडक फराकिलो बनाउने अभियानका कारण वर्ष २०६८ को सुरुमै प्रशसिंत भएका थिए। जसै वर्ष ०६९ लाग्यो, उनको प्रशंसाभन्दा आलोचना बढी हुन थाल्यो। संविधानसभा विघटन भएपछि सुरु भएको उनको आलोचना आफ्नी धर्मपत्नी एव्ां महिला नेतृ हिसिला यमीले प्रशासनमा गरेको हस्तक्षेपका कारण उत्कर्षमा पुग्यो। त्यसमाथि दैलेखका पत्रकार डेकेन्द्र थापाका हत्यारालाई डा. भट्टराईले बचाउन गरेको प्रयासले उनको नियतमाथि नै शंका उत्पन्न गर्‍यो। संविधानसभा निवार् चनपछि पुष्पकमल दाहालको नेतृत्वमा गठन भएको सरकारमा अर्थमन्त्रीका रूपमा कमाएको इज्जत र प्रतिष्ठा डा. भट्टराईले प्रधानमन्त्री भएका बखत जानी-नजानी स्वाहा पारे।

मोहन वैद्य

एकीकृत माओवादी शक्ति र सत्तामा छँदा त्यही दलको वरियताक्रमका दोस्रा नेता मोहन वैद्य किरणले पार्टी फुटाए। त्यति मात्र होइन, उनले आफ्नो दल जनयुद्धमा पनि जान सक्ने उद्घोष गरेर सबैलाई अचम्ममा पारे। आफूले लिएको सिद्धान्तप्रति अटल यी नेता नेपाली जनता र विश्व जनमत अर्कोतर्फ रहेको थाहा पाउँदा-पाउँदै पार्टी फुटाउने र विद्राेह गर्नेजस्ता कुरा गरेर वर्षभरि नै चर्चामा रहे।



सुशील कोइराला

निष्ठाको राजनीति गर्ने नेतामा दरिएका कांग्रेस सभापति सुशील कोइराला यसपटक माओवादी अध्यक्ष पुष्पकमल दाहालको चेपुवामा परेर आफ्नो भित्री लोभ सार्वजनिक गरे। दाहालको आश्वासनमा प्रधानमन्त्री हुने चाहना राखेका कोइरालालाई माओवादी अध्यक्षले अरू नेता जस्तै कोइराला पनि पदको लोभी हुन् भन्ने कुरा प्रमाणित गर्न सफल भए। थाहै नपाई माओवादी रणनीतिका सिकार भएका कोइराला पछिल्लो समयमा कमजोर पात्रका रूपमा प्रकट भए।

लोकमान सिंह कार्की



सबै नेतालाई रिझाउन सक्ने खुबी भएका पूर्वमुख्य सचिव लोकमान सिंह कार्कीको मुखैमा आएको अख्तियार प्रमुख पद सर्वोच्च अदालतका कारण तुहियो। चार मुख्य दललाई रिझाएर अख्तियार प्रमुख सिफारिस भएका कार्की सञ्चारमाध्यमको खबरदारीका कारण असफल हुन पुगे। राजतन्त्रको पक्षधर एवं अख्तियारबाट भष्ट्राचारका आरोपी कार्की जीवनमा पहिलो पटक असफल भएका हुन्।

गणेश थापा



नेपालको फुटबल टिमलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान दिलाएका एन्फा अध्यक्ष गणश थापा यो वर्ष आफू मात्र होइन, देशको इज्जत बिगार्ने व्यक्तिका रूपमा देखापरे। बंगलादेशी नागरिक एवं प्रशिद्ध फुटबलकोच महोम्मद विन हमामसँग गणेशले फिपा अध्यक्षमा जिताउन छोरामार्फत १ लाख डलर घूस लिएको प्रमाणित भयो। विश्वप्रशिद्ध समाचार संस्था एपीले दिएको यो समाचार विश्वव्यापी भएपछि फिफाले महोम्मद विन हमामलाई संस्थाबाटै निष्कासन गर्‍यो। थापाले हमामलाई आफ्नो प्रभावमा राख्न राजाको शासनकालमा गोर्खा दक्षिणवाहु दिलाएकोसमेत प्रमाणित भएको थियो।

प्रकाश दाहाल



एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहाल यो वर्ष पटक-पटक चर्चामा आए। वर्षको सुरुमै सगरमाथा आरोहण गरेर राम्रो छवि बनाएका प्रकाशले केही महिनापछि दोस्रो श्रीमती तथा नाबालक छोरो छाडेर बिना मगरलाई भगाए। बिना मगर पनि आफ्नो श्रीमान् छँदै प्रकाशसँग भाग्न राजी भएकी थिइन्। उक्त घटनापछि दुवैलाई पार्टीले कारबाही गरेको थियो। कारबाहीकै बीचमा बिरामी भएका पूर्वयुवराज पारसको मृत्यु भैसकेको भन्दै फेसबुकमा समवेदना दिएपछि प्रकाश पुनः आलोचनाको पात्र भए।

पारस शाह



युवराजको पदवी खोसिएपछि धेरैजसो समय थाइल्यान्ड र सिंगापुर बस्दै आएका पूर्वयुवराज पारसमाथि भारतीय अन्डरवर्डको निसाना रहेको खबर सार्वजनिक भयो। त्यसलगत्तै उनी थाइल्यान्डमा लागू औषधको अपराधमा प्रहरी चौकी पुगे। नेपालका पूर्वयुवराज भएका कारण उनको कारबाहीमा केही खुकुलोपन अपनाइए पनि भाग्यले उनलाई साथ दिएन। उनी हृदयघातको गम्भीर आक्रमणका कारण अस्पताल भर्ना भए। करिब दुई महिना लामो उपचार पछि उनी स्वस्थ्य भएका छन्। यद्यपि उनको चर्चा सेलाएको छैन।

सुधीर बस्नेत



छोटो समयमै करोडौं कमाएका व्यवसायी सुधीर बस्नेतले जसरी कमाएका थिए, त्यसैगरी टाट पल्टिए। सहकारीमार्फत सयौं व्यक्तिलाई डुबाएर धनी भएको र त्यो पैसा पनि डुबिसकेको थाहा भएपछि उनी जेल परे। यद्यपि पैसा डुब्नेहरूले नै कमाएर तिर्ने सर्तमा उनलाई जेल मुक्त गराएपछि यी व्यवसायी चर्चामा आए।

पदम कुँवर



नेपालका सबैभन्दा शक्तिशाली नेता प्रचण्डलाई सार्वजनिक स्थलमा थप्पड हानेर माओवादी कार्यकर्ता पदम कुँवर लामो समय चर्चामा रहे। उनको थप्पडपछि सरकारले नेताहरूको सुरक्षामात्र बढाएन, सुरक्षा नीति नै परिवर्तन गर्‍यो। अहिले कुनै पनि नेताले आम जनतासँग सीधै भेटन नपाउने व्यवस्था मिलाइएको छ। -ekantipur