मोबाइलको गुणस्तर तत्काल सुधार्न मन्त्रीको ठाडो निर्देशन

काठमाडौं । नेपाल टेलिकमको मोबाइल सेवाको गुणस्तर खस्किदै गएको सर्वसाधरणबाट चौतर्फी गुनासो आउन थालेपछि सुचना तथा सञ्चारमन्त्री माधव पौडेलले गुणस्तर सुधार्न टेलिकमलाई निर्देशन दिनुभएको छ । शुक्रबार टेलिकमका प्रबन्ध निर्देशकसहितका सम्बद्ध पदाधिकारीहरुलाई बोलाएर उहाँले सो निर्देशन दिनुभएको हो पछिल्लो समय टेलिकमको मोबाइलको नेटवर्कमा समस्या देखिदै आएको छ ।



टेलिकमको एउटा नम्बरबाट अर्को नम्बरमा सम्पर्क गर्न ५ पटकसम्म रि-डायल गर्नुपर्ने अवस्था छ । फोन सम्पर्क भईसकेपछि एउटा कुरा सक्न ४/५ पटकसम्म कल गर्नुपर्ने हुन्छ । टेलिकमको मोबाइलबाट सर्वसाधरणले सेवा भन्दा बढी तनाव सिर्जना गर्ने गरेको छ । मोबाइल सेवाप्रति सर्वसाधरणको गुनासो बढ्दै गएपछि मन्त्री पौडेलले टेलिकमसँग आवश्यक सुधारको कार्य योजनासमेत माग्नुभयो । टेलिकमका अधिकारीहरुले जेठ ३ गतेदेखि नै काठमाडौं उपत्यकामा पूराना बिटिएस हटाई नयाँ तथा गुणस्तरीय बिटिएस स्थापना गरेर मोबाइलको गुणस्तरमा परिवर्तन ल्याउने प्रतिबद्धता जाहेर गरे । काठमाडौं उपत्यकामा मौजुदा ५०२ बिटिएसमध्ये दुई महिनाभित्रै २६२ बिटिएस जडान गरेर गुणस्तर सुधार्ने प्रतिबद्धता उनीहरुले गरेका छन् । बहानाबाजी गरेर सर्वसाधारणको गुनासोबाट उम्किन नपाउने भन्दै मन्त्री पौडेलले कर्मचारीहरुको ध्यानाकर्षण गर्नुभयो । उहाँले मोबाइल सेवामा अवरोध आउने र सम्पर्क हुन नसक्ने अवस्था पहिचान गरी तत्काल सुधार गर्न निर्देशन दिनुभएको छ । ‘काठमाडौं उपत्यकामा नयाँ प्रबिधि जडान गरी मोबाइल सेवामा सुधार ल्याएपछि काठमाडौं उपत्यका बाहिरका जिल्लाहरूमा पनि द्रूत गतिमा काम अघि बढाउनुस्’ मन्त्री पौडेलले भन्नुभयो ।