मलेसियामा हातसँगै काटियो राईको सपना

रामचन्द्र नेपाल

क्वालालम्पुर । पाँचथरको ममेङ-१ मा ४० वर्षअघि जन्मिएका ललित राई परिवारका साहिँला छोरा हुन । उनका श्रीमती र छोराछोरीहरु इलामको चिसापानीमा बसोबास गर्छन् । गरीवीका कारण उनले १० कक्षाभन्दा बढी पढ्न पाएनन् । पैसा कमाउन मलेसिया पसेको चार महिनामै उनको जीवनमा अर्को बज्रंपात भयो ।

गाउँमा हुँदा उनी खेती किसानीको काम गर्थे । बेलामौकामा मिस्त्री काम गरेर पनि परिवारलाई सुखैसंग पालेका थिए । तर, नेपालका हरेकजसो गाउँमा विदेश जाने लहरसँगै घरैपिच्छे मानिसहरु विदेश जान थाले । टोलैपिच्छे विदेश पठाउने एजेण्टहरु छयापछ्याप्ती भेटिन थाले । विदेशमा केही कमाएर आएकाहरुको हाउभाउलाई समेत हेर्दा ललितलाई पनि विदेश जाऔं जाऔं नलाग्ने कुरै भएन ।


विदेश आउने मन नहुँदा नहुँदै लहरमा लहरिँदै ललित चार महिनाअघि मलेसिया पुगे । मलेसियामा आउनेवेलामा उनीसंग पैसा थिएन । गाउँकै साथीभाइ इष्टमित्रसँग ऋण गरेर इलाममा रहेको जानकी मेनपावरलाई एक लाख १० हजार बुझाएर उनी सुङगाइबुलोमा रहेको ‘एक्स्ट्रा आइडिया’ कम्पनीमा काम गर्न पुगे । आउने वेलामा उनको सोचाइ थियो- ‘आफूले त पढ्न पाइएन, छोराछोरीको भविश्यका लागि भए पनि केही त गर्नैपर्छ ।’ नेपालको एजेण्टले भनेजस्तो काम ललितले मलेसिया पाएनन् । फलामका दराजहरु बनाउने र फर्निचरको समेत काम हुने कम्पनीमा घरको दुद्यख सम्झेर काम गरिरहे उनले ।

यसैवीच फेव्रुवरी २६ तारिखका दिन साँझको आठ वजेको हुँदो हो, काम गर्ने क्रममा उनका दाहिने हातका औंलाहरु मेशिनमा परे । चारवटा औंलाको बीच भागबाटै मेशिनले काटिदियो । उनी बेहोस भए । कम्पनीका मानिसहरुले अस्पताल पुर्‍याए । पाँच दिन अस्पताल वसाइपछि उनले आफ्ना चारवटा औंलाका बचेका भाग सिलाइएको थाहा पाए । यसरी विदेश गएर केही गर्छु भन्ने सपना साँचेर विदेशिएका ललितका सपना यतिवेला हातका औंलांसँगै च्वाट्ट काटिएका छन् । १३ वर्षको छोरा र ११ वर्षकी छोरीलाई पढाएर राम्रो बनाउँछु भन्ने सपनामा पनि केही धक्का लागेको छ । मलेसिया आएको दुई महिना २६ दिनमै घाइते बनेका उनको ऋणचाँहि जस्ताको त्यस्तै छ ।

कम्पनीले विमाको कुरा चलाइरहेको भए पनि हातका औंलाहरुका अगाडि बिमा फिक्का हुने उनको ठम्याइ छ । नेपाल र्फकंदा आएको ऋणजस्ताको त्यस्तै छ, अब विदेशमै बसेर केही गरौँ भने उपाय छैन । उनी यतिवेला दोधारमा छन । राज्यले विदेशमा अपाङ भएकाहरुलाई हेर्नु पर्ने हो, तर त्यसो हुन सकिरहेको छैन भन्ने उनलाई लागेको छ । ‘रेमिटान्सको डाटा तेस्र्याउने सरकारले हामी जस्ताको आवाज के सुन्ला ?’- उनी प्रश्न गर्छन् । मलेसियामा रहेका साथीभाइले सहयोग गरेको खण्डमा आफ्नै गाउँमै गएर सानोतिनो दोकान थापेर छोरा छोरीहरुको पढाइलाई अगाडि बढाउने उनको सोचाइ उनमा पलाएको छ । उनी भन्छन् – ‘यतिधेरै साथीहरु हुनुहुन्छ, सहयोग त पाउँछु होला नि ?’