सरकारले दियो हतियार किन्ने स्वीकृति

३० चैत, काठमाडौं । अन्तरिम चुनावी मन्त्रि परिषदले नेपाली सेनालाई नियमित प्रक्रियाअनुरुप हतियार खरिदका लागि अनुमति प्रदान गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको बैठकले सशस्त्र प्रहरीका पाँचजना डीआइजीलाई पदस्थापन गर्नुका साथै ६ जना डीआइजीलाई सरुवा गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद बैठकले तराईका विभिन्न जिल्लामा २७ सय स्यालो टयुवेल जडान गर्न भारत सरकारले उपलब्ध गराउन लागेको २५ करोड ६७ लाख २० हजार रुपैयाँको सहयोग स्वीकार गर्ने निर्णय गरेको छ । त्यसैगरी बैठकले १ सय २ वटा विभिन्न नियमावलीमा उल्लेख भएका ‘महाराजधिराज’ र ‘अधिराज्य’ जस्ता शब्दहरु हटाउने प्रक्रियासमेत अगाडि बढाएको छ । यसका लागि गणतन्त्रको भावनाअनुसारको व्यवस्था गर्न विधेयक समितिमार्फत् प्रक्रिया अगाडि बढाउन भनिएको छ । राजतन्त्रको अन्त्य भएको लगभग सात वर्षपछि नियमावली परिमार्जन गर्ने निर्णय गरेको हो । यसअघि गणतन्त्र सुदृढीकरण ऐन मार्फत् ऐनहरुमा रहेका यस्ता शब्द परिमार्जन गरिएको थियो ।

बैठकले तराईको हुलाकी राजमार्गका लागि चितवन र पर्सा जिल्लामा पर्ने राष्ट्रिय निकुञ्ज क्षेत्रमा डोजरलगायत उपकरण सञ्चालन गर्ने अनुमति दिएको छ । बैठकले कार्यालयको कामका सिलसिलामा घाइते भएका जिल्ला वन कार्यालय, दोलखाका अधिकृत सोमबहादुर बमजनलाई २ लाख २० हजार उपचार खर्च प्रदान गर्ने निर्णय गरेको छ । यसअघि रेग्मी सरकारले आफ्नो पहिलो निर्णय सार्वजनिक गर्दै व्यक्तिगत अनुदान, चन्दा र सहायता प्रदान नगर्ने निर्णय सुनाएको थियो ।