मङ्सिरमा जसरी पनि चुनाव गर्नुपर्छ : खनाल
चैत ३१- नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले मङ्सिरमा जसरी भएपनि चुनाव हुनुपर्नेमा जोड दिएका छन्। गृह जिल्ला इलामको इरौंटारस्थित बहुवन माविको रजत जयन्ती उत्सवका अवसरमा आज बोल्दै उनले 'चुनाव नभए मुलुकमा अराजकता फैलन्छ, त्यही हुन नदिन जसरी भएपनि चुनाव गर्नुको विकल्प छैन्,' भने।
पटकपटक एकीकृत नेकपा (माओवादी)ले धोका दिएको आरोप लगाउँदै उनले भने, 'अब एमालेलाई ठूलो पार्टी बनाउनुहोस् मुलुकले संविधान र निकास दुवै पाउँछ।' माओवादीले सङ्घीयतासम्बन्धी विवादास्पद खाका ल्याएकाले संविधानसभाबाट संविधान जारी हुन नसकी अवसान भएको उनको भनाइ थियो।
तीन दिनदेखि सञ्चालित रजत जयन्तीमा सांस्कृतिक, खेलकूद कार्यक्रममा अभिभावक, विद्यार्थी, शिक्षक गरी करिब २०० भन्दा बढीको उपस्थिति रहेको विद्यालयका शिक्षक दीनराज निरौलाले बताए। रासस