कांग्रेसको प्रतिबेदनमा २२ केन्द्रीय सदस्यको फरक मत समेटिने

२३ चैत, काठमाण्डौ । नेपाली कांग्रेस २२ केन्द्रीय सदस्यले पेश गरेको फरक मतलाई महासमिति वैठकमा पेश गरिने राजनीतिक प्रतिबेदनमा समेटिने भएको छ ।



बिहीबार राति अबेर सकिएको केन्द्रीय समिति बैठकले ४ बुँदे फरक मतलाई प्रतिवेदनमा समावेश गर्ने निर्णय गरेको हो । उनीहरुले अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीश पदबाट राजीनामा दिनुपर्ने प्रस्ताव गरेका छन । फरक मतलाई मिलाएर राजनीतिक प्रतिवेदनमा समावेश गर्ने जिम्मा उपसभापति रामचन्द्र पौडेल र पूर्णबहादुर खड्कालाई दिइएको छ ।

बिहीबारको बैठकमा पौडेलले पेश गरेको १४ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा आफूहरुको फरक मतलाई अस्वीकार गरेपछि २२ केन्द्रीय सदस्यले चर्को विरोध गरेका थिए । पूर्णबहादुर खड्का, अर्जुननरसिंह केसी लगायतका २२ केन्द्रीय सदस्यले पेश गरेको फरक मतमा प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने, संविधानसभा चुनाव असारमै गर्नुपर्ने, निर्वाचन आयोगमा नियुक्ति भइसकेको अवस्थामा अन्य संवैधानिक निकायहरुमा नियुक्ति चुनाव अघि गर्न नहुने र कांग्रेसले विरोधमा उत्रेका पार्टी र नागरिक समाजसँग वार्ता गरेर चुनावको माहोल तयार गर्नुपर्ने उल्लेख छ ।

यस्तै मीन विश्वकर्मा, जीवन परियार लगायतले पेश गरेको आर्थिक समाजिक रुपान्तरणको प्रस्ताव पनि राजनीतिक प्रतिवेदनमा समावेश गरिने भएको छ ।

प्रतिवेदन २६ गतेबाट नवलपरासीमा हुने महासचिव बैठकमा पेश हुनेछ । बैठकले महासमिति र महाधिवेशन प्रतिनिधिबाट केन्द्रीय सदस्य मनोनयन गर्ने पाउने अधिकार क्षेत्र र जिल्ला सभापतिहरुलाई दिने गरी विधान संशोधन गर्ने निर्णय गरेको छ ।